सूचनाको शक्ति - The Power Of Information

        

सडक दुर्घटनामा स्वास्थ्यकर्मी घाइते

बाँके । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका दुई जना कर्मचारी दुर्घटनामा परेर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि जमुनाहा नाकामा कोरोना भाइरसको जाँच गर्ने बताएपछि त्यसको व्यवस्थापन गर्न स्वास्थ्य शाखाका दुई जना कर्मचारी गणेश कार्की र जागेश्वर बस्नेत जमुनाहा जाँदै थिए ।

भे ६ प ७५२५ नम्बरको मोटरसाइकलमा जमुनाहा नाकातिर जाँदै गरेका उनीहरुलाई गणेशमान चोकमा भेटेनरी कार्यालयको सरकारी गाडीले ठक्कर दिएको हो । भे १ ब ३०४ नम्बरको गाडीले ठक्कर दिँदा स्वास्थ्यकर्मीद्वय घाइते भएका छन् । दुवैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

बस्नेतको दाहिने हातमा चोट लागेको छ भने कार्कीको देब्रेखुट्टा र हातमा चोट लागेको छ । दुवै जनाको अवस्था सामान्य रहेको छ । घाइते कार्कीले जमुनाहामा कोरोना भाइरसको चेकजाँचको व्यवस्था मिलाउन जाने क्रममा दुर्घटनामा परेको बताए । नेपालगन्ज उपमहानगरपालिकाले कोरोना भाइरसको नाकामा जाँचको व्यवस्था मिलाउन दुई जना कर्मचारीलाई त्यसतर्फ पठाएको थियो ।

हेल्थ डेस्क राख्ने र भारतबाट नेपाल आउने मानिसको जाँच गर्ने तयारी थियो । नाकामा यसअघि नै स्वाइनफ्लुको महामारी फैलिएको बेलामा खडा गरिएको हेल्थ छदैछ । त्यसलाई नै व्यवस्थापन गर्ने कर्मचारीहरुले योजना बनाएका थिए । उपकरणसहितका कर्मचारीलाई नाकामा राखेर जाँच गर्ने उपमहानगरपालिकाले तयारी गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १४:०४