सूचनाको शक्ति - The Power Of Information

        

डिएसपीकै प्रमाणपत्र नक्कली !

काठमाडौं । नक्कली प्रमाणपत्रधारी डाक्टर, इन्जिनियर लगायतलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरी संगठनभित्रै अधिकृतका नक्कली शैक्षिक प्रमाणपत्र रहेको खुलेको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी)मा अरुणकुमार साहको नक्कली शैक्षिक प्रमाणपत्र रहेको खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा प्रहरी निरिक्षकमा बढुवा भएको र प्रहरी नायव उपरिक्षक (डिएसपी)मा समेत बढुवा भएको भन्दै अरुणकुमार साहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता प्रदिप कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साहले भारतको मगध विश्वविद्यालय, बोधगया अन्तर्गतको बीडी इभिनिङ कलेज पटनाबाट स्नातक तहको नक्कली शैक्षिक योग्यता बनाएर प्रहरी सेवामा अनुचित लाभ लिएको अख्तियारले दाबी गर्दै मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले कारबाहीका लागि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ११:३४