बझाङ । विकासका पूर्वाधार निर्माणका कामका काममा जिल्लाको खप्तडछान्ना गाउँपालिकाले निगरानी गर्दै आएको छ । गाउँपालिकाबाट विनियोजित रकमले बन्ने पूर्वाधार तथा विकास निर्माणका काममा गाउँपालिकाले निगरानी बढाउँदै आएको हो । दिगो विकासको लक्ष्यसहित गाउँपालिकाले अनुगमनमा जोड दिँदै आएको छ ।
खप्तड छान्ना गाउँपालिकाको विकट क्षेत्र वडा नं.७ को लामागडामा खानेपानी आयोजना निर्माणका लागि गत बर्ष १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ८५ परिवार रहेको लामागडामा योजना सम्पन्न भएपछि उपभोक्ता समितिलाई अन्तिम किस्ता भुक्तानी गर्नुअघि गाउँपालिकाको टोलीले योजनाको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा स्टीमेट अनुसार काम राम्रो नभएको खानेपानीका पाइपहरु ४०–४५ सेन्टिमिटर मात्रै गाडेको फेला पारेपछि गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले सम्पन्न भएको योजनाका सबै पाइपहरु उखेल्दै फालेको लामागडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर रावतले बताए । ९० सेन्टिमिटरभन्दा मूनि पानीका पाइप गाडेपछि अन्तिम किस्तावापतको रकम गाउँपालिकाबाट पाएको उपभोक्ता समितिका अध्यक्ष रावतले बताए ।
यस्तै खप्तड छान्ना गाउँपालिका वडा नं.३ मा १० लाख रुपैयाँको धडा खानेपानी योजनाका सम्पन्न भएपछि खानेपानीको उद्घाटन गर्ने क्रममा खानेपानीका पाइपहरुसमेत गाउँपालिकाकै अध्यक्षसहितको टोलीले उखेल्दै फालेको खप्तड छान्ना गाउँपालिका–३ का वडाध्यक्ष मंगलबहादुर सुनारले बताए । अनुगमनका क्रममा पाइपहरु धेरै नगाडेको फेला परेपछि भुक्तानी रोकिएको छ ।
गाउँपालिकाका योजनाहरुमा जहाँ त्रुटि देख्यो त्यहीनेर तत्कालै भत्काउने वा रद्द गरेर सुधारपछि मात्रै सबै रकम निकासा दिने गरेको गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले बताए । अरुले योजनाको अनुगमन गरेको भए पनि कुनै न कुनै समयमा बेलुका वा विहान गरेर त्यो योजनाको अनुगमन गर्न गाउँपालिकाका अध्यक्ष स्वयम् पुग्ने गरेका उनले बताए । गाउँपालिकाका अध्यक्षले योजनाको अनुगमन गर्दा पूर्णरुपमा काम भए नभएको जानकारी लिएर त्यसका बारेमा आफूलाई पनि जानकारी दिनसबै वडाध्यक्षलाई निर्देशन दिएका छन् ।
दिगो विकास निर्माणको लक्ष्यसहित गाउँपालिका अघि बढेको बताउँदै गाउँपालिकाका अध्यक्ष रोकायाले एकपटक निर्माण गरेका विकास योजनाहरु लामो समयसम्म चल्न सक्ने बनाएमात्रै गाउँपालिकाको दिगो विकास हुने बताए । उनले जुनसुकै विकास निर्माणका कामहरु भए पनि दिगो हुनेखालका बनाउनुपर्ने र आफु नेतृत्वमा भएसम्म यस्ता कामहरु हुने उनको भनाई छ । विगतका बर्षहरुमा कतिपय योजना सम्मन्न हुन नपाउँदै भत्किने परिपाटीको अन्त्य गर्न अनुगमन आवश्यक रहेको उनको भनाई छ ।
अहिले गाउँपालिकाबाट बन्ने विकास निर्माणका कार्यहरुमा उपभोक्तादेखि ठेकेदारहरुसमेत यस विषयमा सचेत रहेको प्रवक्ता सिंहले जानकारी दिनुभयो । कतिपय योजनाहरुको अनुगमन गरेको उपभोक्ता समितिका पदाधिकारीहरुलाई समेत जानकारी नहुने गरेको स्थानीयबासी बताए । योजानको अन्तिम रकम निकासा गर्न जाँदा निकासा रोकेपछि मात्रै योजनाको कहाँ त्रुटि भएको छ भन्ने कुराको जानकारी हुने गरेको स्थानीयहरु बताउँछन् ।
सत्यराज सिंह ।