सूचनाको शक्ति - The Power Of Information

        

शिक्षकले मदिरा पिएपछि अभिभावकले लगाए विद्यालयमा ताला

बझाङ । विद्यालयमा शिक्षकले मदिरा पिएको भन्दै अभिभावकहरुले विद्यालयमा ताला लगाएका छन् । मंगलबार दिउँसो जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेको नारायण माद्यमिक विद्यालय पिमीमा अध्यापन गराउने शिक्षकहरुले जाँडरक्सी खाएर अभिभावकहरुलाई गालीगलौज तथा हातपात गरेको भन्दै अभिभावकहरुले विद्यालयमा ताला लगाएका हुन् ।

विद्यालयका शिक्षक ललित ऐडी, विरेन्द्र खड्का र मिनबहादुर खड्काले आफुमाथि हातपात र गालीगलौज गरेको विद्यालय ब्यवस्थापन समितिका सदस्य पन्द्रबहादुर सिंहले बताए । दिउसो २ बजे नै विद्यालय बन्द गरेर विद्यालयमा नै बसेर रक्सी खाएको आरोप उनको छ । यस्तो नगर्न आग्रह गर्दा उल्टै आफुमाथि हातपात र गालीगलौज गरेको सिंहले बताए ।

विद्यार्थीलाई नै रक्सी लिन पठाएर उनीहरुले विद्यार्थीहरुमाथि खेडबाड गरेको आरोप उनको छ । नेपाली काँग्रेसका वडाकमिटी सभापति ईश्वरबहादुर सिंह लगायत अन्य स्थानीयहरुमाथि शिक्षकले अभद्र ब्यवहार गरेका पन्द्रबहादुरे आरोप लगाएका छन् । जसका कारण आफुहरुले बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको उनले बताए ।

विद्यालयमा यस्तो अभद्र ब्यावहार गर्ने सबै शिक्षकहरुलाई विद्यालयबाटै निष्कासन गरिनुपर्ने मागसहित विद्यालयमा अभिभावकहरुले निबेदनसमेत दिएको उनले बताए । यता शिक्षक ललितबहादुरले भने आफुहरु विद्यालयको छुट्टी भइसकेपछि विद्यालयभित्रै शिक्षक सुत्ने कोठामा बसेर मासु चिउरा खादै गरेको अवस्थामा पन्द्रबहादुर लगायतका केही अभिभावकहरुले आउन खोज्दा नआउन आग्रह गरेपछि विवाद भएको बताए ।

स्थानीय तथा शिक्षक विरेन्द्रबहादुर खड्का र विद्यालय ब्यवस्थापन समितिका सदस्य पन्द्रबहादुरबीच बोलाबोल भएको र छुट्याउन खोज्दा आफुलाई समेत गालीगलौज तथा अभद्र ब्यवहार गरेपछि आफुले हातपात गरेको उनले स्वीकार गरेका छन् । विद्यालय समयमा मादकपदार्थ सेवन समेत नगरेको उनले बताए । विद्यालयका प्राधानाध्यापक ऐनबहादुर सिंहले घटना विद्यालय समयमा नभएको दावी गरे ।

विद्यालयमा अभिभावकहरुले ताला लगाएको स्वीकार गर्दै प्राध्यानाध्यपाक सिंहले विद्यालयमा टाढा घर भएका शिक्षकका लागि बस्ने ब्यवस्था गरेका कारण सोही कोठामा मदिरा खाएको हुनसक्ने स्वीकार गरे । उनले यस विषयमा अभिभावकहरुसँग बुझ्दा शिक्षकलाई विद्यालयबाट हटाइनुपर्ने माग राखेपछि शुक्रबार विव्यसको बैठक बोलाइएको बताए ।

उनले विव्यसको बैठक नबस्दासम्मका लागि विद्यालय बन्द गरिएको बताए । विद्यालयमा ३५० जना विद्यार्थी अध्यनरत रहेका छन् । अहिले विद्यालयको पढाई प्रभावित बनेको छ । यता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर सिंहले यस विषयमा आफुलाई जानकारी नभएको र आफु गाँउभन्दा बाहिर भएका कारण बुझ्ने बताए ।

नेपाल सरकारले सार्वजनीक स्थलभन्दा झण्डै २०० मिटर टाढा मदिराको पसल हुनुपर्ने प्रावधान राखेको भए पनि सो विद्यालयमा भने विद्यालय प्राङ्गणसँगै जोडिएको अवस्थामा मदिराको पसल रहेको स्थानीयले गुनासो गरे । झण्डै २५ मिटर नजिकै मदिराको पसलसँगै पुस्तकालय तथा किराना पसल एकै ठाँउमा राखिए पनि यस विषयमा सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार १६:५३