काठमाडौं । पानी पार्ने मौसमी प्रणाली पश्चिमी न्यून चापीय प्रणाली सशक्त बन्दै गएको छ । जसका कारण आज (बुधबार) देशैभर वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको हुने संकेत देखिएको हो ।
‘विशेषगरी देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात बढी हुने देखिन्छ,’ मौसमविद् बासीले भनिन्, ‘मध्य र पूर्वका पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।’ उनका अनुसार आज पश्चिमी भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने पश्चिमी क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात हुने सम्भावना छ । ‘आज दिउँसोभन्दा राति र भोलि (बिहीबार) अझ बढी वर्षा र हिमपातको सम्भावना देखिएको छ,’ मौसमविद् बासीले भनिन् ।
यस्तै मध्य क्षेत्रका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा यिनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ स् सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउन हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।
तराईमा हुस्सु र कुहिरो लाग्न छाड्यो
पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ । यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि हिजोबाट तराईमा हुस्सु रकुहिरो देखिन छाडेको हो । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज बिहान पनि तराईमा कुहिरो देखिएको छैन । ‘अब यो प्रणालीको प्रभाव रहुन्जेल हुस्सु कुहिरो लाग्दैन,’ उनले भनिन् । यस हिसाबले अब दुई/तीन दिन तराइवासीले हुस्सुरकुहिरोका कारण बिहान बिहान हुने कठ्यांग्रिँदो चिसोबाट मुक्ति पाउने भएका छन् । तर मौसम बदलीका कारण दिउँसो घाम नलाग्ने भएका कारण दिउँसो भने जाडो हुनेछ ।
सत्यपाटी ।