सूचनाको शक्ति - The Power Of Information

        

चीनले ६ दिनमै हजार शय्याको अस्पताल कसरी बनाउन सक्ला ?

काठमाडौं । चीनको वुहान शहरमा कोरोना भाइरस लागेका विरामीहरूको उपचारका लागि स्थानीय अधिकारीहरूले ६ दिनमा अस्पताल बनाउने घोषणा गरेका छन् । एक हजार शय्याको हुने उक्त अस्पतालमा सम्भावित संक्रमितका साथै संक्रमण भइसकेका विरामीहरूको उपचार गरिनेछ । चिनियाँ सञ्चारमाध्यमहरूले ६ दिनमा उक्त अस्पताल बन्ने भन्दै शुरुवातको तस्वीरसमेत सार्वजनिक गरिसकेका छन् ।

स्थानीय सञ्चारमाध्यमको दाबीअनुसार २५ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने अस्पतालको शुरूवाती चरणमा स्क्याभेटरहरूले काम थालिसकेका छन् । २००३ मा सार्स भाइरसको संक्रमण बढेका बेलामा पनि राजधानी बेइजिङमा त्यस्तै खालको अस्पताल निकै थोरै समयमा निर्माण गरिएको थियो । कोरोना भाइरसको संक्रमण एक करोडभन्दा बढी जनसंख्या रहेको वुहानबाट शुरू भएको मानिएको छ ।

अहिलेसम्म चीनमा ८०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । चीनले ६ दिनमा एक हजार शय्याको अस्पताल कसरी बनाउन सक्छ त ? यस प्रश्नको जवाफमा चिनियाँ अधिकारीहरूले भनेका छन्, ‘छिटो निर्णय र कार्यान्वयन गर्ने प्रक्रियालाई चीनको राजनीतिक प्रणालीले आत्मसात गरेको छ । आपतकालीन समयमा प्रशासनिक झन्झट नपर्ने गरी काम भएका उदाहरण यसअघि पनि छन् । अर्को कुरा चीनको जमिन सरकार नियन्त्रित हुने हुनाले सरकारले चाहने बित्तिकै कुनै पनि संरचना बन्न सक्छन् ।’

चाइना ग्लोबल टेलिभिजन नेटवर्कको मिडिया रिपोर्टमा जनाइएअनुसार चीनको राजनीतिक प्रणाली पश्चिमा देशहरूको भन्दाभिन्दै हुनु पनि छिटो अस्पताल निर्माण हुनुको प्रमुख आधार हो । चीनको एकदलीय व्यवस्थाले लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको अवधारणालाई आत्मसात गरेको छ । जहाँ केन्द्र सरकारले गरेको निर्णयलाई अन्य तहमा कार्यान्वयनका लागि छिटो छरितो निर्देशन जाने गर्छ र काम हुने गर्छ ।

उक्त राजनीतिक प्रणालीले स्थानीय तहका सरकारहरूलाई केन्द्रप्रति उत्तरदायी बनाउने गर्छ । तर बेलायत, अमेरिका जस्ता देशहरूमा स्थानीय सरकारलाई स्वायत्तता प्रदान गरिएको छ । स्थानीय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधिहरू केन्द्र सरकारभन्दा बढी स्थानीय जनतामाथि उत्तरदायी हुन्छन् । यसले निर्णय र कार्यान्वयन प्रक्रियालाई अप्ठेरो पार्न सक्छ । चीनको संविधानले जहाँसुकैको जमिन पनि केन्द्र सरकारको सम्पत्ति भएको सुनिश्चितता गरेको छ ।

तर उक्त जमिन जनतालाई उत्पादनका कार्यमा प्रयोग गर्न भाडामा दिइने गरिएको हुन्छ । यसको अर्थ चीनको सरकारले चाहनेबित्तिकै कुनै पनि जमिन तत्काल खाली गराउन सक्छ । सीजीटीएनले भनेको छ, ‘यो बाहिरबाट हेर्दा त जनताको सम्पत्तिको हक विरुद्धको प्रावधान जस्तो लाग्छ तर गहिरिएर हेर्ने हो भने जनताको स्वास्थ्य या अन्य आपतकालीन विषय सरकारले समाधान गर्नुपर्ने हुनाले चीनका लागि यो प्रणाली अत्यन्तै महत्वपूर्ण छ ।’ एजेन्सी

प्रकाशित मिति : १२ माघ २०७६, आइतवार १६:०८