सूचनाको शक्ति - The Power Of Information

        

यसपाली जाडो लम्बिने संकेत

काठमाडौं । यस वर्ष जाडो अलि लामो समयसम्म रहने संकेत देखिएको मौसमविद्ले बताएका छन् । यस वर्ष पानी पार्ने प्रणाली पटकपटक भित्रिरहेकाले जाडो लम्बिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

‘अहिलेसम्मको स्थिति हेर्दा जाडो अलि लम्बेलाजस्तो देखिन्छ,’ उनले भने, ‘यसपटक अलि सक्रिय खालको प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) पटकपटक भित्रिरहेको छ, जसले वर्षा र हिमपात गराउँदा देशभर चिसो बढ्ने गर्छ ।’ यस वर्ष औसतभन्दा बढी हिउँदे वर्षा भएको उनले बताए ।

उनका अनुसार यसपटक तीन÷चार वर्षयताकै ठूलो हिउँदे वर्षा भएको छ । ‘घाम लागेर जमिन तात्तिन थालेको हुन्छ, तर फेरि अर्काे प्रणाली भित्रिन्छ र पानी पर्ने, हिमपात हुने गर्छ,’ उनले भने, ‘जसले गर्दा तापक्रम बढ्न पाउँदैन र चिसो बढ्छ ।’ अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ ।

‘हुन त अब बिस्तारै जाडो घट्ने र गर्मी सुरु हुनुपर्ने हो,’ उनले भने, ‘तर छिनछिनमा बादल आउने, घाम लाग्न नपाउने भइरह्यो भने चाहिँ चिसो घट्न पाउँदैन र जाडो लम्बिन्छ ।’ अगाडिका दिनमा भएको वर्षा र हिमपातले देशभर अझै चिसो कम हुन नसकेको उनको भनाइ छ । केही दिनअघि भएका वर्षाको पानीले जमिन भिजेकाले अहिले वाष्पीकरण भएर देशका विभिन्न भागका केही स्थान र तराईभरि हुस्सु र कुहिरो लागेको हो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार ०९:१६