सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी र भेटेरिनरी डाक्टरको मिलेमतोमा रातो मासुको कालो धन्दा

काठमाडौं । सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ । पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन । काठमाडौं लगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ । यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए ।

काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन् । ‘दसैंपछि वैधानिक रूपमा एउटा पनि खसीबोका काठमाडौंमा ल्याइएको छैन । चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्,’ उनी भन्छन्, ‘यसमा सरकार जिम्मेवार हुनुपर्छ । भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन् ।’

विभागले २०७५ फागुन २६ गतेदेखि क्वारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो । खसीबोका नेपाल भित्र्याउन सम्बन्धित देशले नै स्वस्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । क्वारेन्टाइनमा गुणस्तर प्रमाणसमेत प्राप्त गर्नुपर्छ । यो प्रक्रिया पूरा गर्न व्यापारीलाई महिनौं लाग्छ । भारतीय खसीबोका सहजरूपमा भित्रिन नपाएपछि नेपालको उत्पादनले बजार धान्न सकेन ।

त्यसपछि भारतीय खसीबोका अवैधरूपले नेपाल छिराउने र राजधानीसम्म ल्याउने काम गिरोहले गरिरहेको छ । जसका कारण राजस्व ठूलो मात्रामा नोक्सान भइरहेको छ । यति मात्र होइन, अवैध तरिकाले आउने खसीबोकाको क्वारेन्टाइन परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा छ । काठमाडौंमा दिनहुँ ठूलो परिमाणमा खपत हुने रातो मासु अवैध तवरले भारतबाट भित्र्याइने खसीबोकाकै हुन्छ । प्रश्न उठ्छ, भारतीय खसीबोका कहाँबाट राजधानी भित्रिन्छन् ?

पशु क्वारेन्टाइन कार्यालय कृष्णनगर कपिलवस्तुका एक कर्मचारीका अनुसार भारतबाट ठूलो मात्रामा खसीबोका अवैध तरिकाले कपिलवस्तुसम्म भित्रिरहेको छ । ‘हामीले भेटेसम्म नियन्त्रणमा लिइरहेका छौं तर अवैध ढंगले ल्याउने क्रम रोकिएको छैन,’ ती कर्मचारी भन्छन्, ‘गिरोहले भारतबाट मासिक १० हजारजति खसीबोका भित्र्याउने गरेका छन् । यो काममा प्रहरीदेखि भेटेरिनरी डाक्टरसम्मको मिलेमतो हुन्छ ।’ पछिल्ला तीन महिनामा कपिलवस्तुबाट ठूलो मात्रामा खसीबोका राजधानी भित्र्याइएको छ ।

पुसमा मात्रै उक्त जिल्लाबाट तीन कम्पनीले ४ हजार ८४४ वटा भित्र्याए । तीन कम्पनीमध्ये दुइटा कपिलवस्तुका होइनन् । अर्कै जिल्लामा दर्ता कम्पनीले किन कपिलवस्तुबाट मात्रै खसीबोका राजधानी पठाइरहेका छन् ? यी कम्पनीको शंकास्पद कारोबारसहितका कागजपत्र अन्नपूर्णले पाएको छ । यी कम्पनीका नाममा अन्य व्यक्तिले नै खसीबोकाको अवैध कारोबार गरिरहेको स्रोत बताउँछ । केही कम्पनीका मालिकसमेत यो काममा संलग्न रहेको ती स्रोतको दाबी छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार ०८:४०