सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट फर्केका एक जनामा उक्त भाइरसको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । संक्रमित व्यक्तिको पहिचान गोप्य राखिएको छ ।

उनी जनवरी ९ मा चीनको युवानबाट नेपाल आएका थिए । उनको रगतको नुमुना परीक्षणका लागि डब्लुएचओ कोल्यावोरेटिङ सेन्टर हङकङ (WHO collaborating center Hongkong) पठाइएको थियो । बिहीबार आएको उनको रगत परिक्षणको नजितामा उनलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्यावोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजीटीभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ ।’

त्यसअघि कोराना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनलाई निगरानीमा राखिएको थियो । अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ । उनको सम्पर्कमा रहेका थप व्यक्तहरुको पनि खोजी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

‘ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययनहरु गरिरहेको छ । बिरामीका नजिकको सम्पर्कमा आएको हुनसक्नेहरुको खोजी गरी पहिचान र परिक्षणको काम हुँदैछ । यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधान अनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत विवरण जानकारी गराइँदैछ,’ स्वास्थ्य मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

हङकङबाट फर्केका थप एकजना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निगरानीमा रहेका छन् । उनी कोरोना भाइरसको संक्रमणको आशंकामा आफै अस्पताल पुगेका थिए । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका अन्य तीन जना पनि भेटिएका छन् । उनीहरुलाई पनि निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार ०८:२६