सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचन : नेकपा १६ र राजपा दुई सिट, काँग्रेस शुन्य

काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात वटै प्रदेशको सम्पूर्ण परिणाम आइसकेको बताए । उनले निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १६ सिट र प्रदेश नम्बर–२ मा २ सिटमा राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवारहरु निर्वाचित भएको जानकारी दिए ।

प्रदेश नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इन्दिरा देवी गौतम, गोपीबहादुर सार्की आछामी र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । प्रदेश नम्बर २ मा नेकपाका तुलसा कुमार दाहाल र राधेश्याम पासवान र राजपाका शेखर कुमार सिंह र मृगेन्द्र कुमार सिंह यादव विजयी भए । यस्तै बागमती प्रदेशबाट नेकपाका गंगाकुमारी वेलवासे र बेदुराम भुसाल निर्वाचित भए । गण्डकी प्रदेशबाट नेकपाका भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट नेकपाका बिमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराईले जित हात पारे ।

कर्णाली प्रदेशबाट नेकपाका सुमित्रा विसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदादेवी भट्ट र तारामान स्वाँर निर्वाचित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निर्वाचनमा ५५० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष १ हजार ५०६ जनासहित कुल २ हजार ५६ जना मतदाता रहेकोमा २ हजार ४० जनाले मतदान गरेका थिए ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको डोटीमा निर्वाचन भएको थियो । १८ जना राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम संवैधानिक व्यवस्था अनुसार ७ दिनभित्र राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०८:४१