सूचनाको शक्ति - The Power Of Information

        

चोर बाटो हुँदै सपनाको देश अमेरिका छिरेपछि…

काठमाडौं । ‘अमेरिका ? सपनाको देश ।’ लाखौँ नेपाली युवाको एउटै जवाफ हुन्छ । यही सपना पछ्याउँदै हरेक वर्ष नेपाली युवाहरु लाखौँ रुपैयाँ डुबाएर अमेरिका नपुग्दै रित्तो हात फर्कन्छन् । हप्ता हैन, महिनौँ बित्छ बिच बाटोमा । एकै ठाउँमा पनि महिनौँ बस्नुपर्छ । ‘लुकामारी’मा केही अमेरिका छिर्न सफल हुन्छन् ।

अनि यही सफलतालाई देखाएर मानव तस्करले आफ्ना ‘नयाँ ग्राहक’लाई जाल फाल्छन् भने बीच बाटोमा पुगेर थकित भएकालाई आशावादी बनाउँछन् । एक समय, भनाई नै प्रचलित थियो, अमेरिका छिर्न मात्र गाह्रो तर छिरेपछि सक्कियो, कुनै समस्या हुँदैन । तर पछिल्लो समय तस्करको पछि लाग्दै महिनौँ लगाएर अमेरिका छिरेका ती ‘भाग्यमानी’हरु लगातार स्वदेश फर्काँइदैछन् ।

हरेक साताजसो अमेरिकाले अवैधरुपमा अमेरिका प्रवेश गरेका नेपालीलाई नेपाल फर्काइरहेको छ । गत डीसेम्बर १८ मा एकैपटक पाँच जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको थियो । नेपाल आइपुगेपछि ती नेपालीले महिनौँको प्रयासपछि अमेरिका छिरेको तर लगत्तै पक्राउ परेपछि महिनौँसम्म जेल बस्नु परेको अनुभव साँटेका थिए । त्यसक्रममा जनहीँ ५० लाख रुपैयाँभन्दा बढी रुपैयाँ खर्च भएको उनीहरुको भनाई थियो ।

अमेरिकाले डीसेम्बर २० र २२ तारिखमा पनि दुई जना नेपालीलाई डीपोर्ट गरेको थियो । सन् २०२० लागेयता मात्र ६ जना नेपाली अमेरिकाबाट डीपोर्ट भएका छन् । यो नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जानकारीमा आएको तथ्यांक मात्र हो । ‘अमेरिकाले गरेका सबै डीपोर्टको जानकारी हामीलाई नहुन पनि सक्छ । दूतावासले जानकारी गराएमात्र हामीलाई खबर हुने हो । त्यसैले डीपोर्ट हुनेको संख्या अझ धेरै हुनसक्छ,’ ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलिया भन्छन् ।

चालु आर्थिक वर्षमा मात्र अमेरिकाबाट ६० जना नेपालीलाई डीपोर्ट गरिएको तथ्यांक ब्युरोसँग छ । गत जुलाई २९ तारिखमा एकैपटक चार जना नेपालीलाई डीपोर्ट गरिएको थियो । अगस्ट १६ तारिखमा पनि पाँच जना नेपाली अमेरिकाबाट डीपोर्ट भएका थिए । अगस्टमा १७ र अक्टोबरमा ११ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको तथ्यांक ब्युरोको छ । डीसेम्बरमा पनि ८ जना नेपाली अमेरिकाबाट डीपोर्ट भए । गत आर्थिक वर्षमा अमेरिकाले ४५ जना नेपालीलाई डीपोर्ट गरेको थियो ।

चालु आर्थिक वर्षको सातौँ महिना चल्दै गर्दा डीपोर्ट हुने नेपालीको संख्या ६० पुगेको छ । डीपोर्ट भएकामध्ये सबै पुरुष हुन् । ‘गिरोह मात्र अमेरिका जाने समूह भनेको पुरुष नै हो । हाम्रा अनुसन्धानले पनि तस्करको पछि लाग्नेमा पुरुषहरु मात्र देखाएको छ’, एसपी थपलिया भन्छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता अमेरिकाले गैह्रकानुनी रुपमा बसिरहेका आप्रवासीमाथि कडाई गरिरहेको छ । तस्करले नेपालीलाई विभिन्न रुटको प्रयोग गरेर नेपालीलाई दक्षिण अमेरिकाबाट उत्तर अमेरिका हुँदै मेक्सिको पुर्याएर अमेरिका छिराउने गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १७:५८