धनगढी । राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने दुई सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम शुरु भएको बताए ।
प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ सदस्य र प्रदेशका ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख १७६ गरी कूल मतदाता २२९ रहेका छन् । मतदाताको मतभार भने फरक–फरक रहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेकामा स्थानीय तहका एक पदाधिकारीको मतभार १८ रहेको छ ।
प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३९, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सदस्य छन् । प्रदेशबाट निर्वाचित हुने दुई राष्ट्रियसभा सदस्य पदका लागि चारको उम्मेदवारी परेको छ । महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूहतर्फ तारामान स्वार र नेपाली काँग्रेसले महिलातर्फ तुलसी देवकोटा तथा अन्य समूहतर्फ प्रतापसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।
निर्मला खडायत ।