सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र, प्रदेश ५ मा दुई मतदान केन्द्र तोकियो

दाङ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तरगत प्रदेश नम्बर ५ को चुनाव दाङमा हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकेर निर्वाचनको तयारी तीव्र पारिएको छ । एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी तोकिएको छ । दुईवटा मतदान केन्द्रमा १६ जना कर्मचारी खटाइएको र निर्वाचन सम्बन्धी सम्पूर्ण सामग्री हस्तान्तरण गरिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

बिहान १० बजे देखि बेलुका ४ बजे सम्म मतदानको समय तोकिएको छ । मतगणना स्थल समेत तोकिसकिएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने छ । कर्मचारी मिलन केन्द्र ‘क’ मतदान केन्द्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् । यो प्रदेशमा कूल २०५ जना मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै रङका मतपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यहरुले सेतो पृष्ठभूमिमा हरियो रङमा छापिएको मतपत्र पाउनेछन् भने नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले सेतो पृष्ठभूमिमा रातो रङमा छापिएको मतपत्रमा मतदान गर्नेछन् । दुवैथरि मतदाताले तीन/तीनवटा मतपत्रमा छाप लगाउनुपर्नेछ ।

एक जना मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनुपर्ने छ । पहिले महिलाको, त्यसपछि अपांगता अल्पसंख्यकको र अन्तिममा अन्य कोटाको उम्मेदवारलाई मतदान गर्नुपर्नेछ । त्यसका लागि तीन ठाउँमा नै मतपत्र र मतपेटिकाको व्यवस्था गरिनेछ । यो प्रदेशमा तीन पदका लागि नौजना बीच प्रतिस्पर्धा हुँदैछ । जसमा महिलातर्फ दुई, अपांगता वा अल्पसंख्यकतर्फ तीन र अन्यमा चार गरी नौ जना उम्मेदवार रहेका छन् ।

महिलातर्फ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट वाणगंगा नगरपालिका–८ ढोडेकोल कपिलवस्तुुकी विमला घिमिरे र नेपाली कांग्रेसका तर्फबाट लमही नगरपालिका–५ की गिरिजादेवी न्यौपाने, अल्पसंख्यक/अपांगतातर्फ नेकपाबाट तुलसीपुुर उपमहानगरपालिका– १२ का जगप्रसाद शर्मा, कांग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका–५ का मेराज अहमद हलवाई र समाजवादीका नेपालगन्ज उपमहानगरपालिका– ७ का सुुनीलकुुमार सिंघल उम्मेदवार छन् ।

त्यस्तै अन्यमा नेकपाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का गोपाल भट्टराई, कांग्रेसका छत्रदेव गाउँपालिका–४ अर्घाखाँचीका बालकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाका कपिलवस्तुु नगरपालिका–९ का शिवप्रसाद पौडेल र समाजवादी पार्टीका गुुलरिया नगरपालिका–१ बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार छन् । कुल ३०५ मतदातामध्ये प्रदेशसभा सदस्य ८७ र १०९ स्थानीय तहका प्रमुख÷उपप्रमुुख गरी २१८ जना छन् । जसमा प्रदेशसभातर्फ प्रतिमतदाता ४८ मतभारका दरले ४१७६ तथा स्थानीय तहतर्फ प्रतिमतदाता १८ का हिसाबले ३९२४ मतभार गरी कुल ८१०० मतभार रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १०:४१