एजेन्सी । जापानमा पछिल्लो एक हप्तादेखि एक व्यक्तिको चर्चा चुलिएको छ । उनी पिता बन्दै छन् र यी भावी पिताको चर्चा जापानमा मात्रै सीमित भएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उनी सम्बन्धी खबरहरु प्रमुखताका साथ छापिएका छन् । यी व्यक्ति हुन्, जापानका वातावरण मन्त्री शिन्जिरो कोइजुमी ।
लिबरल डेमोक्र्या्टिक पार्टीका नेतासमेत रहेका ३८ वर्षका शिन्जिरो चाँडै पिता बन्दै छिन् । उनकी श्रीमती क्रिष्तेल ताकिगावाले आउँदो फेब्रुअरीमा पहिलो सन्तान जन्माउँदै छिन् । निकट भविष्यमा पिता बन्न लागेका वातावरण मन्त्री शिन्जिरोले गएको हप्ता सन्तान जन्मिएपछि दुई हप्ताको बिदा लिने घोषणा गरे ।
प्रधानमन्त्रीले उनलाई दुई हप्ताको बिदा दिने भएका छन् । अथार्त मन्त्री शिन्जिरोले सन्तान स्याहार्नका लागि दुई हप्ताको पटर्निटी लिभ लिने भएका हुन् । उनी छोराको पिता बन्दै छन् । जापानको इतिहासमा शिन्जिरो सन्तानको स्याहारका लागि बिदा लिने पहिलो मन्त्री तथा सांसद हुन् । जापानमा अति नै कम पिताहरुले सन्तान जन्मिएपछि पटर्निटी लिभ लिने गरेका छन् ।
तर जापानमा विश्वकै सबैभन्दा खुकुलो बिदा व्यवस्था छ नयाँ पिताहरुका लागि, सन्तान जन्मिएपछि काम गर्ने पिताहरुले एक वर्षसम्मको बिदा लिन पाउँछन् । तर अति नै कम पुरुषहरुले मात्रै पटर्निटी लिभ लिने गरेका छन् । सन् २०१८ मात्रै ६ प्रतिशत कामकाजी पिताहरुले सन्तान जन्मिएपछि बिदा लिएका थिए ।
घरायसी काममा जापानका पुरुषहरुले अति कम सहयोग गर्ने गरेका छन् । पुरुषले घरायसी कामका लागि गर्ने सहयोगका आधारमा बरियता क्रम निकाल्दा जापान पुछारतिर पर्छ । तर पछिल्ला वर्षहरुमा केही नेताहरु र व्यवसायिक नेतृत्वकर्ता पुरुषहरुले पटर्निटी लिभ लिएका छन् र उनीहरुले मानसिकतामा परिवर्तन गर्न चाहेको बताएका छन् ।
अहिलेसम्म जापानको इतिहासमा पटर्निटी लिभ लिने शिन्जिरो सबैभन्दा माथिल्लो ओहोदाका व्यक्ति हुन् र उनले पनि मानसिकतामा परिवर्तन गर्न चाहेको बताएका छन् । शिन्जिरो जापानको राजनीतिमा राइजिङ्ग स्टार हुन् । विपक्षीहरुले उनको यो बिदा मात्रै ‘स्टन्ट’ रहेको आरोप लगाएका छन् । तर स्टन्ट नै भए पनि यसले सचेतना भने फैलाउने छ ।
सत्यपाटी ।