सूचनाको शक्ति - The Power Of Information

        

उपचार गर्न नयाँदिल्ली हिँडेका रामचन्द्र पौडेल भारतीय नेताको शरणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निष्ठा र ईमान्दारिताको प्रतिमूर्ति ठान्ने कार्यकर्ताहरूको कमी छैन । पौडेललाई धेरैले त्यागी नेताका रुपमा चिन्छन् । तर, पछिल्लो समय नेपाली कांग्रेसभित्र असन्तुष्ट नेताहरूको नेतृत्व गरेर एकाएक चर्चामा आएका पौडेलको नयाँदिल्ली भ्रमणलाई लिएर कांग्रेस पार्टीभित्र हँगामा भएको छ ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मात्रै होइन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले समेत पौडेलको कुरा काट्न थालेका छन् । छोरा चिन्तन पौडेललाई साथमा लिएर नयाँदिल्ली उपचार गर्न भनेर हिँडेका वरिष्ठ नेता पौडेलले भारतका रक्षामन्त्री एवम् भाजपाका नेता राजनाथ सिंहसँग भेटेको तस्वीर फेसबुक पेजमा राखेपछि नेपाली कांग्रेसभित्र चर्चा शुरु भएको हो ।

उपचार भनेर गएका पौडेलले किन भारतीय नेताहरूलाई धमाधम भेटेका हुन् चासो बढेको छ । कांग्रेसका वरिष्ठ नेता पौडेल दिल्ली किन गएका हुन् ? उनले औपचारिक रुपमा केही भनेका छैनन् । उनका सहयोगी चिरञ्जीवी अधिकारीले पौडेलको उच्च रक्तचापको रिपोर्ट फरक फरक देखिएपछि उपचार गर्न दिल्ली उडेको बताएका थिए । पौडेलले नयाँदिल्लीमा उपचार पनि गराए होलान् ।

पार्टीभित्र विवाद भइरहेका बेला नयाँदिल्ली पुगेर रक्षामन्त्री सिंहसँग भेटवार्ता गर्नुलाई नेपाली कांग्रेसका धेरै नेता तथा कार्यकर्ताहरूले रुचाएका छैनन् । निष्ठावान नेता भनेर चिनिएका पौडेल नै भारतीय नेताहरूसँग भेट्न जानुलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले आलोचना गरिरहेका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विवाद मिलाउन पहल गरेका थिए ।

त्यो पहल सहमतितिर गएको थियो । तर, वरिष्ठ नेता पौडेलले नै सहमतिलाई लत्याएर केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरिदिएका थिए । भारतको राजधानी नयाँदिल्ली उड्नुभन्दा एक दिन अगाडि सभापति शेरबहादुर देउवा, पौडेल र सिटौलावीच बुढानिलकण्ठमा वार्ता भएको थियो । विभिन्न प्रयासहरूको माध्यमबाट भएको त्यो वार्तामा सिटौलाका कारण सहमति नजिक पुगेको भनेर बाहिर समाचार आएका थिए ।

तर, वार्ता छाडेर पौडेल छोरालाई काखी च्यापेर दिल्ली जानुको जवाफ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले खोज्न थालेका छन् । सामाजिक सञ्जालमा वरिष्ठ नेता पौडेलको दिल्ली भ्रमण र भारतीय नेताहरूसँगको भेटवार्तालाई रुचाएका छैनन् । पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि नेता सिटौलाले सभापति देउवासँग सानेपास्थित पार्टी मुख्यालयमा सभापतिकै कार्यकक्षमा वार्ता गरेर सहमतिको लागि प्रयास गर्ने आश्वासन दिएर निस्किएका थिए ।

सिटौलाले पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा.शशांक कोइराला लगायतसँग कुराकानी गरेका थिए । सहमति नजिक पुगेपनि अन्तिम समयमा वरिष्ठ नेता पौडेललाई कसले उचाल्यो सबै सहमति उल्ट्याएर बहिस्कारको नीतिमा पुगेका थिए । केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि पछिल्लो समय नेता सिटौलाले पार्टीभित्रको विवादलाई सधै सतहमा ल्याएर अगाडि बढ्दा नेपाली कांग्रेसलाई फाइदा नहुनेभन्दै लचकता देखाउँदै आएका छन् । तर, पौडेल भने कुरा मिलाउनुभन्दा नयाँदिल्लीमा भारतीय नेताहरूको घरको ढोका चाहर्दैछन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १३:२०