सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेट मैदान नहुँदा स्कूलको चौरबाट जन्मिन्छन् राष्ट्रिय खेलाडी

बाँके । नेपालगन्जमा क्रिकेट मैदान छैन भन्दा धेरैले नपत्याउलान् । प्रश्न उठ्ला, क्रिकेट मैदान नै नभएर राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी कसरी जन्मिए ? कहाँ खेलाएर देशमै पहिलो महिला क्रिकेटर जन्माइयो ? हो, वास्तवमै एउटा पनि क्रिकेट मैदान नभएर नेपालगन्जबाट धेरै राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी जन्मिए ।

अहिलेसम्म जति पनि खेलाडीले राष्ट्रिय जर्सी लगाए, ती सबै जना एउटा स्कूलको मैदानमा खेलेर ‘प्रख्यात’ भए । त्यो हो, मंगलप्रसाद माविको खेल मैदान । यद्यपि, यो मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छैन । खाली काम चलाउ छ । विद्यार्थीलाई खेल्नका लागि तयार पारिएको मैदान । स्कूलको मैदानले कति थेग्न सक्छ र ?

जनप्रतिनिधि आएपछि नेपालगञ्जमा राम्रो क्रिकेट मैदान बनाउने पहलकदमी थालियो । तर, यो दुई वर्षमा जनप्रतिनिधिले जग्गा खोज्न सकेनन् । खेलाडी र सम्बद्धहरुको चर्को दबाब आइरहेपछि नेपालगन्ज उपमहानगरपालिकाले अहिले जग्गा खोज्नका लागि वडा नं. २ का अध्यक्ष एवं क्यानका पूर्व केन्द्रीय सदस्य सुनिलसिंह हमालको संयोजकत्वमा टोली खटाएको छ ।

पुस २५ गतेको बोर्ड बैठकले निर्णय गरेपनि हमालले आइतबार मात्रै पत्र बुझेका छन् । नेपालगन्ज वडा नं. ६, १४ र १९ नम्बरमा रहेका सार्वजनिक जग्गालाई टोलीले क्रिकेट मैदानका लागि प्राथमिकतामा राखेको छ । यी तिनै ठाउँमा ६ विगाहभन्दा धेरै जग्गा छन् । यद्यपि, तिनै ठाउँ विवादित छन् ।

‘वडा नं. ६, फूल्टेक्राको ताजिया सेलाउने ठाउँ, वडा नं. १९, बसुदेवपुरको तलाउ, वडा नं. १४ भवानीयापुरको सार्वजनिक जग्गा हाम्रो नजरमा परेको छ । अन्य ठाउँ पनि हेरेका छौँ’, वडाध्यक्ष एवं जग्गा खोज्न खटाइएका टोलीका संयोजक हमालले भने, ‘क्रिकेट मैदानका लागि यी सबै ठाउँको जग्गा हेरेर त्यहाँ के समस्या छ, के गर्नुपर्छ । बिस्तृत प्रतिवेदन बुझाउँछौं ।’

क्रिकेट मैदान बनाउन कम्तीमा पाँच विगाह जमिन खोजिएको छ । यति जग्गा हुँदा शुरुमा खेल मैदानको रुपमा विकास गर्ने पछि क्रिकेट स्टेडियम बनाउने रणनीति बनाइएको छ । यद्यपि, पार्किङसहितको क्रिकेट स्टेडियमका लागि सात विगाह जमिन चाहिने आकलन गरिएको छ । प्रदेश सरकारले एक वडा एक खेल मैदानको अवधारणा अघि सारेको छ ।

नेपालगन्जमा भने क्रिकेट मैदान नै छैन । नेपालगन्ज उपमहानगरपालिकाले क्रिकेट मैदानका लागि जग्गा खोज्ने बित्तिकै प्रदेश सरकारबाट एक करोड रुपैयाँ आउने कर्मचारीहरु बताउँछन् । जनप्रतिनिधि आएपछि नै क्रिकेट मैदानका लागि जग्गा खोज्न थालिएपनि धेरै जग्गा चाहिने र त्यस्ता सार्वजनिक जग्गा अधिग्रहण र विवादित रहेकाले अहिलेसम्म क्रिकेट मैदान बन्न सकेको छैन ।

क्रिकेट खेलाडी र सम्बद्धको निरन्तरको चर्को दबाब मेयरमाथि परिरहेको छ । क्रिकेटरको उर्वरभूमिमा मैदान नहुनु लाजमर्दो अवस्था रहेको छ । जनप्रतिनिधिहरु क्रिकेट मैदान बनाउन लागि परेपनि उपयुक्त जग्गा फेला पर्न सकेको छैन । हमालको टोलीले दिएको प्रतिवेदनका आधारमा नेपालगञ्जमा क्रिकेट मैदान बन्ने विश्वास गर्न थालिएको छ ।

‘हामी सबै ठाउँको अवस्था बुझ्छौं, स्थानीय सबैसँग बसेर छलफल गर्छौ, के गर्न सकिन्छ भन्नेसम्मको सुझावसहित प्रतिवेदन बुझाउँछौं,’ हमालले थपे, सकेसम्म हामीले जग्गाको टुंगो लगाउँछौं ।’ क्यानका प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले मैदान निर्माणका लागि मेयरलाई लगातार दबाब दिइरहेको बताए । ‘नेपालगन्जभित्र जहाँ भएपनि हुन्छ । तर, हामीलाई मैदान चाहियो । यसका लागि हामीले दबाब दिइरहेका छौं, क्यानका जिल्ला अध्यक्षसमेत रहेका थापाले भने ।

 

#देश सञ्चारबाट

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १३:०८