सूचनाको शक्ति - The Power Of Information

        

दश रुपैयाँमै पेटभरी खाना !

बाँके । रु.१० मा खाना ! त्यो पनि आजको महङ्गो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगन्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’पछि गत कात्तिक महीनाबाट रुं.१० मै खाना दिने पुण्य काम गर्दै आएका छन् ।

सदरलाइनस्थित नगर भवन अगाडी हप्ताको मंगलवार र शनिवार ‘मेस’ चलाएर रु.१० मै एकछाक खाना बाँड्ने गरिन्छ । पाँच सय जनासम्म सर्वसाधारण खाना खान पुग्छन् । आफुले कमाएको पैसा महङ्गो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहात त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरु पनि खाना खान पुग्छन् ।

खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ । ६९ वर्षिय अग्रवाल नेपालगन्जका परिचित व्यवसायी हुन् । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आए थिए । लामो समयसम्म व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जिवन बिताइरहेका छन् ।

‘छोराहरु व्यवसायमै छन् । म पुण्यको कामतिर लाग्छु भनेर यो काम शुरु गरेको हुँ,’ अग्रवालले भने । उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स सञ्चालन गरिरहेका छन् । दुई दशकबढि समय संघमा रहेका आदेश अहिले कोषाध्यक्ष हुन् भने आगामी माघ ११ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योगतर्फ उपाध्यक्ष उम्मेदवार बनेका छन् ।

त्यस्तै कान्छा छोरा निखिल पनि व्यवसायमा छन् । ‘अब केही राम्रो काम गरौं भन्ने लागेपछि मैले छोराहरुसँग सोधे । खर्च कति लाग्छ भनेर छलफल पनि गरे,’ अग्रवालले भने, ‘छोराहरुले राम्रो काममा साथ दिन्छु भने पछि भोलिपल्टै काम शुरु गरे ।’ उनलाई नेपालगन्जका अरु प्रतिष्ठित व्यवसायीले पनि साथ दिएका छन् ।
उनले शुरु गरेको काममा नेपालगन्जका प्रतिष्ठित व्यवसायी सञ्जय अग्रवाल, बिजय गुप्ता, रन्जित लखेर, सन्जित ज्वैलर्सको साथ रहेको छ । ‘अरु साथीहरुले पनि साथ दिएका छन्,’ अग्रवालले भने, ‘सबैको साथ पाए भने हरेक हप्ता गर्ने योजना रहेको छ ।’ निःशुल्क खाएको छु भन्ने नपरोस् भनेर रु.१० शुल्क कायम गरेको उनले बताए ।

उनले भने, ‘त्यो पैसा पनि नहुनेलाई सिस्टम नबिग्रियोस् भनेर हामीले रु.१० मै खाना खुवाएका छौं ।’ अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै बिस्तार गर्दै लैजाने योजना बनाएका छन् । ‘यो पुन्य काममा सबैको साथ पक्कै रहन्छ,’ अग्रवालले भने, ‘बाँचुन्जेल यस कामलाई निरन्तरता दिनेछु ।’

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार १४:०१