सूचनाको शक्ति - The Power Of Information

        

चुन्ना र रौनियारको आ–आफ्नै दावी, खर्चिलो चुनावले टाउको दुखाई

नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव

बाँके । नेपालमा हुने चुनावमा पार्टीहरुबीच मतदान हुन्छ । एकले जित्ने र बाँकी पार्टीहरुले हार्ने परम्परा छ । यसमा नेपाल उद्योग वाणिज्य संघ पनि अछुतो छैन । निर्वाचनको मिति नजिकिँएको छ । उम्मेद्वारहरुले प्रचारलाई तीव्र बनाएका छन् । चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

चुनाव प्रचार प्रसारलाई तीब्र बनाएका अध्यक्ष पदका उम्मेदवारहरू अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ र ललितकुमार रौनियारले आ–आफ्नो प्यानल विजयी हुने दाबी गरिरहेका छन् । तीन हजारबढी मतदाता रहेको संघको आगामी माघ ११ गते निर्वाचन हुँदैछ । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा नेकपा एकल चुनावी मैदानमा छ । तर, काँग्रेससँग राप्रपाको तालमेल भएको छ ।

अध्यक्ष पदका उम्मेदवार चुन्नाले आफ्नो प्यानलको जित सुनिश्चित भएको दाबी गरे । धेरै पूर्वअध्यक्षहरुको समर्थन आफुलाई भएको बताउदै चुन्नाले व्यावसायीको सर्मथन राम्रो पाएको बताए । यता अध्यक्ष पदका अर्का उम्मेदवार रौनियारले पनि आफूलाई उद्योगी व्यवसायीको साथ रहेको भन्दै जीत सुनिश्चित भएको दावी गरे ।

२०२४ सालमा सीमित अगुवा व्यापारीको ‘बैठकी’बाट शुरू भएको संघ स्थापनाको ५१ वर्ष पुरा भएको छ । यो पाँच दशकको यात्रामा १० जनाले संघको कमाण्ड सम्हालेका छन् । स्वर्गीय ओमकार खेतानको अध्यक्षतामा २०२४ सालमा वैधानिक ढंगले औपचारिकता पाएको संघको पूर्वाधार ‘बैठकी’ भने २०१२ सालदेखि नै हुँदै आएको जानकार बताउँछन् ।

संघको अभिलेख अनुसार, खेतानले २०३८ सालसम्म संघको नेतृत्व सम्हालेपछि केदारनाथ टण्डनको काँधमा जिम्मेवारी थपिएको थियो । टण्डनको २०४३ सालमा निधन भएपछि तत्कालीन उपाध्यक्ष गौरीशंकर मोहपालले नेतृत्व सम्हालेका थिए । २०५३ पुसमा अच्यूत प्रसाईको नेतृत्वमा नयाँ कार्यसमिति बनेको देखिन्छ ।

सो कार्यसमितिमा दामोदरप्रसाद गुप्ता र सुनिलकुमार शर्मा उपाध्यक्ष, सतिशचन्द्र अग्रवाल सचिव, श्यामकुमार शर्मा सहसचिव र उमाशंकर केशरवाल कोषाध्यक्ष लगायतको कार्य समिति निर्माण भएको इतिहासले देखाउँछ । प्रसाईको नेतृत्वसँगै नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ अध्याय सुरु भएको देखिन्छ ।

प्रसाईले आफ्नो दुई कार्यकालमा सचिवको जिम्मेवारी निभाएका सतिशचन्द्र अग्रवाललाई २०५९ मा नेतृत्व हस्तान्तरण गरेका थिए । अग्रवालले आफ्नो कार्यसमितिका सदस्य दामोदर आचार्यलाई २०६३ भदौमा पदभार हस्तान्तरण गरेका थिए । आचार्यले तत्कालीन उपाध्यक्ष सुनिलकुमार शर्मालाई पराजित गरी २०६६ सालसम्मका लागि संघको नेतृत्व लिएका थिए ।

आचार्यसँग कन्हैयालाल वैद्य प्रथम र कृष्णप्रसाद श्रेष्ठ द्वितीय उपाध्यक्षका रुपमा रहेका थिए । संघको अभिलेखमा १३ औं कार्यकालको नेतृत्वमा वर्तमान अध्यक्ष नन्दलाल बैश्य पुगेका छन् । संघको नयाँ भूमिका परिस्थितिको सामाना गर्न बैश्यले दशौं अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । यसै अवस्थामा माघ ११ गते संघको ५१ औं सभा हुँदैछ ।

विगत र अहिलेमा निर्वाचनको माहोल फरक छ । विगतमा तीन धार भएका प्रत्यासी अहिले दुई धारमा विभाजित भएका छन् । प्रतिस्पर्धात्मक निर्वाचन प्रणालीमा मत परिणाम नै आधिकारीक मानिन्छ । अहिले नै यो र त्यो भन्नुभन्दा पनि प्रत्यासीको लोकप्रियताका आधारमा केही बिश्लेषण गर्न सकिन्छ ।

अहिलेको निर्वाचन र देखिएका उम्मेदवारलाई हेर्दा दुबै प्यानलका उम्मेदवार व्यवसायीक हकहितमा लागि परेका व्यक्तिहरू नै छन् । तर, निर्वाचनमा खस्ने मतलाई भुलेर एकछिन व्यक्तिगत लोकप्रियतालाई निहाल्दा संघको सर्वोपरी पद अध्यक्षमा साझा प्रजातान्त्रीक उद्योगी व्यवसायी समुहलाई संघर्ष धेरै गर्नुपनैैैै देखिएको छ ।

यद्दपी परिणाम निर्वाचनपछि नै आउने हो । यो सामान्य बिश्लेषण मात्र गरिएको हो । दवै समूहको उम्मेदवारी घोषणामा गतिलै तामझाम देखिएको थियो । तर, यो तामझाम र सहभागीता निर्वाचनको समयमा कसरी प्रस्तुत हुन्छ यो महत्वपूर्ण पक्ष हो । मतदानबाट प्राप्त मत परिणामले घोषणाको तामझामलाई मुल्याङकन गर्नेछ । यसका लागि माघ ११ कुर्नैपर्छ ।

पश्चिम नेपालको पुरानो शहर नेपालगन्जको व्यावसायिक हित र नागरिक अगुवा संगठनको रूपमा हेरिएको नेपालगन्ज उद्योग वाणिज्य संघले प्रस्तावित लुम्बिनी प्रदेशको मात्र नभएर कर्णाली र सुदूरपश्चिमकै विकासको आधार बनाउनेछ । यसले पनि माघ ११ मा हुने संघको निर्वाचनलाई विशेष महत्वका साथ नियाल्न आवश्यक देखिन्छ । चुन्नाका प्यानलमा वाणिज्यतर्फ ज्ञानेन्द्र श्रेष्ठ, उद्योगतर्फ आदेश अग्रवालको उपाध्यक्ष पदमा उम्मेदवारी छ ।

सदस्यमा टंक धामी, हरिलाल न्यौपाने, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, राजेश बैश्य, धर्म अर्याल, विजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भीम रानाभाट रहेको छ । बस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजंग राणा ‘सिद्धु’को उम्मेदवारी रहेको छ ।

यता अध्यक्ष पदका अर्का आकांक्षी ललित रौनियारको प्यानलबाट उद्योगतर्फ तपेन्द्रबिक्रम शाह र वाणिज्यतर्फ अमित बस्नेतको उपाध्यक्षमा उम्मेदवार छन् । यस्तै सदस्यमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्रसिंह सरदारको उम्मेदवारी रहेको छ ।

खर्चिलो चुनावले उम्मेदवारको टाउको दुखाई

नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव खर्चिलो हुन थालेको छ । खर्चिलो र भड्किलो चुनाव उम्मेदवारको टाउको दुखाइको विषय बन्ने गरेको छ । २०५२ सालदेखि उद्योग वाणिज्य संघमा चुनावी प्रतिस्पर्धाका आधारमा नेतृत्व छनौट हुँदै आएको पाइन्छ । हरेक तीन वर्षमा चुनाव हुन्छ । चुनावैपिच्छे खर्च बढ्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।

यसपटकको निर्वाचनका लागि दुईवटा प्यानल बनाएर उम्मेदवार घरदैलोमा छन् । चुनावी प्रचार प्रसारले संसदीय चुनावको झझल्किलो दिएको छ । उम्मेदवारले पर्चा पम्पलेट वितरण गरेका छन् । घरदैलो नगएको दिन छैन । उम्मेदवारलाई बिहानदेखि रातीसम्म मतदाता रिझाउन फुर्सद छैन । यतिबेला नेपालगन्ज चुनावमय भएको छ । चुनाव जित्न त्यत्तिकै सम्भव छैन । उम्मेदवारले ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ ।

बिगतदेखि नै संघमा खर्चिलो चुनाव हुँदै आएको छ । उम्मेदवारले पकेट मत बनाउन नविकरणदेखि नयाँ सदस्यता बनाउन ठुलो धनराशी खर्च गर्ने गरेका छन् । अधिकांस व्यवसायी आफैले नविकरण र नयाँ सदस्यता लिनै आउँदैनन् । उम्मेदवार आफै अगाडी नसर्ने हो भने उसको पकेट मत मात्र होइन संघमा सदस्यता नै नबढ्ने अवस्था छ,’ संघका एकजना पूर्वपदाधिकारीले भने, ‘व्यवसायी र संघबीचको ग्यापले व्यवसायीले सदस्यताका लागि रुची नदेखाएर उम्मेदवार आफै अगाडी सर्नेपर्ने अवस्था छ ।’

सदस्यता नविकरण र सदस्यता वितरणदेखि चुनावी कामसम्म आईपुग्दा उम्मेदवारले पैसा खर्च गर्नुपर्छ । चुनावैपिच्छे बढ्दै गएको खर्च देख्दा पैसा नहुने व्यवसायी संघमा पुग्नै नसक्ने अवस्था आउन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ । ‘यहाँ त सांसदकै चुनाव लडेजस्तो भइरहेको छ,’ संघका पूर्व पदाधिकारी भन्छन्, ‘यस्तो अवस्थाले सामान्य व्यवसायी त चुनाव नै लड्न नसक्ने अवस्था आउने देखियो ।’

संघका पूर्वमहासचिव अशोक कर्माचार्य खर्चिलो चुनाव कम गर्न नीतिगत व्यवस्थाको खाँचो परेको बताउँछन् । ‘यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी छ,’ पूर्वमहासचिव कर्माचार्यले भने । पूर्व महासचिव बिष्णु लामिछानेले पनि चुनाव जित्नैका लागि दाउपेच रोक्नका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १४:०२