सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनालाई प्रहरीको अधिकार, प्रहरीमा भने जताततै कीर्ते !

काठमाडौं । सशस्त्र प्रहरी बललाई पक्राउ पूर्जीको अधिकार दिँदा नेपाल प्रहरी रिसायो । अहिलेसम्म पनि दुई संगठनबीच राम्रो सम्बन्ध छैन । अहिले नेपाली सेनाले समेत प्रहरीले जस्तै छापा हान्न सक्ने कानून बनाउन लागिएको छ । यसले प्रहरी अधिकारीहरुले चासो दिएका छन् । सेनाको गुप्तचरलाई बलियो बनाउन भन्दै रक्षा मन्त्रालयले नयाँ कानूनको मस्यौदा बनाउको छ ।

जून मस्यौदा कानून मन्त्रालय रायका लागि पुगेकोमा कानून मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको छ । सेनामा छुट्टै कानून नै बनाएर गुप्तचर बनाउन आवश्यक नभएको कानून मन्त्रालयका अधिकारीको भनाई छ । तर, सैनिक अधिकारीहरु जसरी पनि शक्तिशाली गुप्तचर बनाउने पक्षमा छन् । अहिले पनि सेनामा उपरथीको कमाण्डमा मिलिट्री इन्टेलिजेन्स सक्रिय छ । जसअन्तरगत ठूलो संख्यामा सैनिकहरु सादा पोशाकमा सूचना संकलनमा खटिने गर्दछन् ।

सेनाले सूचना संकलनका नाममा छापा हान्न सक्ने सहितको अधिकार माग गरिएको छ । एकातर्फ सरकारले नयाँ कानूनले ल्याएर राष्ट्रिय अनुसन्धान विभागलाई बलियो बनाउन लागेको छ । यस्तो अवस्थामा सेनामा गुप्तचर विभाग बनाउन छुट्टै कानून बनाउन लागेपछि यस्तो प्रक्रिया विवादमा परेको छ । नेपाल प्रहरी समेत यसप्रति सशंकित बनेको छ । सेनालाई प्रहरी जस्तो बन्ने रहर लागेको प्रहरी अधिकारीहरुको आरोप छ ।

प्रहरीमा जताततै कीर्ते

कानुन कार्यान्वायन गर्ने प्रहरी अधिकारीहरु नै कीर्ते काण्डमा मुछिन थालेका छन् । संगीत बिद्यालया एसपी राजेन्द्र गुरुङ कीर्ते काण्डमा राजिनामा दिएका छन् । आईए उत्तिर्ण गरेको भन्दै प्रहरीमा भर्ना भएकोमा अन्ततः उनले एसएलसी मात्र उत्तिर्ण गरेको खुलेको छ । छानबिन सुरु भएपछि उनले राजिनामा दिएका हुन् ।

जबकी एसएसपी गुरुङकै बढुवाका लागि भनेर एसएसपीको दरबन्दी सिर्जना गरिएको थियो । तर, राजिनामा दिएर उनले उन्मुक्ति पाउँछन् कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्छ हेर्न बाँकी छ । त्यस्तै डिएसपी रमेशबहादुर सिंह र शिवबहादुर सिंहमाथि पनि कीर्तेमा छानबिन भइरहेको छ । रमेशबहादुरले नागरिकतामा जन्ममिति कीर्ते गरेको तथा शिवबहादुरले इन्सपेक्टरमा आवेदन दिंदा स्नातक नै पास नगरेको खुलेको हो ।

दुवै घटनाको आयोगले अनुसन्धान गरिरहेको छ । बौद्ध वृत्तका डिएसपी सिंहलाई आयोगले बयानका लागि बोलाइसकेको छ । उनी यसअघि अख्तियारको हिरासतमा पुगीसकेका प्रहरी अधिकृत हुन् । त्यस्तै एआइजी बढुवामै कीर्ते कागजपत्र पेश गरेको भन्दै विवाद भएको छ । अस्पतालको एआईजी बढुवामा आशा सिंहलाई बढुवा गर्दा नक्कली कागजपत्र पेश गरेर मूल्याङकन गरेको खुलेपछि विवाद भएको छ ।

सिंह डिआइजी मिनराज पाठकभन्दा जुनियर हुन् । तर, पनि सोर्सफोर्सका आधारमा उनको बढुवा सिफारिस भएको थियो । जुनियरलाई सिफारिस भएपछि त्यसविरुद्ध उजुरीसमेत परेको छ । अवकाशको मुखमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विवादमा परेका छन् ।

 

#दृष्टिन्यूजबाट

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार ०९:१६