बाँके । नेपाल आयल निगम लिमिटेड (एनओसी)ले आज देशभर ५० औं स्वर्ण जयन्ती मनाइरहेको छ । यसै अवसरमा नेपाल आयल निगम लिमिटेड नेपालगन्ज इन्धन डिपोले भव्यरुपमा स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्तीका अवसरमा शुभकामना दिँदै संघीय सांसद हिराचन्द्र केसीले विगतका तुलनामा नियमले आफूलाई उल्लेख्यरुपमा परिवर्तन गरेको बताएका छन् ।
सांसद केसीले भण्डारण क्षमता विस्तारसँगै भौतिक पूर्वाधारहरुमा उल्लेख्य प्रगति भएको र केही बर्षयता निगमले आफ्नो घाटालाई नाफाछर्फ लैजान सकेको बताउँदै अझै पनि निगमले धेरै र महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको बताए । उनले भने, ‘भण्डारण क्षमता विस्तारमा निकै फड्को मारेको छ । नयाँ प्रविधिहरुको प्रयोगमा अब्बल बन्दै गएको छ ।’
उनले निगममा केही समस्या र चुनौतिहरु रहेपनि पछिल्लो अवस्थामा सुधारोन्मूख बाटोमा अघि बढेको बताए । ‘निगम, व्यवसायी र विक्रेताबीच केही असन्तुलनहरु छन्, यस विषयमा सरकारले पनि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हामी सांसद भएकै कारण पनि सरकारलाई निगमको थप सुधारका लागि पहल गर्नेछौं,’ उनले भने ।
संंघीय संसदको उद्योग वाणिज्य तथा आपूर्ति समितिका सदस्यसमेत रहेका केसीले निगमलाई अझ सुविधा सम्पन्न बनाउँदै पेट्रोलियम पदार्थ आयात तथा वितरणमा थप सहजता ल्याउन समितिमा छलफल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘पेट्रोलियम विक्रेताहरुले न्यून नाफामा काम गरिरहेका छन् । यसलाई मैले गम्भीर रुपमा लिएको छु । ढुवानी दर तथा विक्रेताहरुले पाउने मुनाफामा केही वृद्धि गर्नुपर्ने कामहरुमा मेरो भूमिका महत्वपूर्ण हुनेछ,’ उनले भने ।
कार्यक्रममा नेपाल आयल निगम लिमिटेड नेपालगन्ज इन्धन डिपोका प्रमूख नवविनोद पोखरेलले उच्च सुरक्षा संवेदनशीलताको इन्धन डिपो यतिबेला सुधारका चरणमा रहेको बताए । ‘हामी भण्डारण क्षमता विस्तारसँगै भौतिक पूर्वाधारहरुलाई पनि व्यवस्थित गर्न लागिपरेका छौं । हाम्रो कार्य सम्पादन र सेवा प्रवाहलाई अझै चुस्त र पारदर्शी बनाउन सबै कर्मचारीहरु सक्रियरुपमा लाग्नुभएको छ,’ प्रमूख पोखरेलले भने ।
उनले स्मार्ट डिपोका रुपमा अघि बढ्न खोजेको बताउँदै त्यसका लागि अध्ययन भइरहेको छ । ‘हामी स्मार्ट डिपो बनाउने अभियानमा सफल भयौं भने हाम्रा सेवाहरु अझै पारदर्शी, चुस्त र छिटो छरितोरुपमा अघि बढ्नेछन् । भारतीय प्राविधिकको टोलीले त्यसका लागि अध्ययन गरिरहेको छ,’ उनले भने । उनले निगमभित्रका कमीकमजोरीहरु हट्दै गएकाले निगम सबल र सक्षम बन्दै गएको बताए ।
स्वर्ण जयन्तीका अवसरमा शुभकामना दिने वक्ताहरुले निगमको भण्डारण क्षमता बढाउनुपर्ने आवश्यकता औल्याएका थिए । सो अवसरमा संघीय प्रहरी इकाई कर्णाली प्रदेशका एसएसपी पोषराज पोखरेल, बाँकेका सहायक प्रमूख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमूख प्रेमनाथ ठाकुर र नेपालगन्ज भन्सार कार्यालयका प्रमूख शान्तिराम निरौलाले शुभकामना दिएका थिए ।
त्यसैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका निवर्तमान अध्यक्ष सरोज पाण्डे, नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका क्षेत्रीय अध्यक्ष विश्वराज खनालले पनि शुभकामना मन्तव्य दिएका थिए । स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमको सञ्चालन हवाई इन्धन डिपो नेपालगन्जका प्रमूख मनोहर डिसीले गरेका थिए । सो अवसरमा निगमसँग आवद्ध विभिन्न संघसंस्थालाई प्रशंसापत्र तथा ५० औं स्वर्ण जयन्ती खेलकुद प्रतियोगितामा विजयी संस्था तथा खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा यस क्षेत्रकै पुराना तथा ३५ बर्षदेखि पेट्रोलियम पदार्थ विक्री गर्दै आएको बागेश्वरी आयलका सञ्चालक ७२ बर्षिय रामगोपाल वैश्य, बाँकेमै धेरै खाना पकाउने ग्याँस विक्रेता भेरी ग्याँस उद्योग, मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई कमिटी र नेपाल रेडक्रस सोसाइटीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
त्यस्तै सप्ताहव्यापि रुपमा आयोजना गरिएको खेलकुद प्रतियोगिताको विभिन्न विधामा विजयी खेलाडीहरुलाई पनि मेडलसहित सम्मान गरिएको छ । जसमा ब्याडमिण्टनतर्फ प्रथम हुने तिलकबहादुर घर्ती र द्धितिय शिव चौधरी, डोरीतान प्रतियोगितातर्फ इवाई इन्धन डिपो नेपालगन्ज (डिल्लीबहादुर जिसी), चेसतर्फ संजयकुमार चौधरी, म्युजिकल दौडतर्फ डिभानसिंह खत्री, सियो दौडतर्फ रानु थापा, हण्डीफोरर्फ सशस्त्र प्रहरी बलका भीमबहादुर बिक र चम्चा दौडतर्फ अम्मरप्रसाद यादवलाई सम्मान गरिएको छ ।
सत्यपाटी ।