सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद पुनःगठनको तयारी, गृहमा सिलवालको सम्भावना

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । चुनावअघि अर्थमन्त्री युवराज खतिवडा जिम्मेवारीबाट अलग हुनेछन् । चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री मात्र छान्ने योजना बनाएका छैनन्, मन्त्रिपरिषद् नै पुनर्गठनको तयारी थालेका छन् ।

अर्थ मन्त्रालयमा पदपूर्ती गर्दा प्रधानमन्त्री ओलीले नयाँ रणनीति अख्तियार गर्नसक्ने अनुमान लगाइएको छ । अर्थ मन्त्रालयमा नयाँ अनुहारभन्दा पनि अहिले मन्त्रिपरिषदमा रहेका सदस्यलाई जिम्मेवारी दिएर केही नयाँ अनुहारलाई अन्य मन्त्रालयमा प्रधानमन्त्रीले नियुक्त गर्न सक्नेछन् । खाली हुने अर्थ मन्त्रालयमा उपप्रधानमन्त्रीसहितको जिम्मेवारीमा नेता ईश्वर पोखरेलको सरुवा हुन सक्ने अनुमान गरिएको छ ।

रक्षा मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादललाई सरुवा गरी गृहको जिम्मा नयाँ अनुहारलाई दिनसक्ने बताइन्छ । सम्भवतः सुरक्षा मामिला जानकार प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई प्रधानमन्त्री ओलीले गृह मन्त्रालयको जिम्मेवारी दिनेछन् । बालुवाटार स्रोतका अघिल्लो पटक पुनःगठनका क्रममा कार्य सम्पादन नराम्रो हुँदा पनि रहेका र आलोचनामा परेका मन्त्रीसमेत प्रधानमन्त्रीले हटाउन सक्नेछन् ।

खानेपानी मन्त्री बिना मगर लगायतलाई हटाउन सक्ने बताइएको छ । उक्त मन्त्रालयमा महेश बस्नेतको नाम अगाडि सार्ने तयारीमा प्रधानमन्त्री रहे पनि उक्त मन्त्रालय पूर्वमाओवादी कोटामा रहेका कारण बस्नेतको निश्चित छैन । कानुन र सहरी विकास मन्त्रालय भने खाली नै रहनेछन् । उक्त दुई मन्त्रालय सरकारमा दुई तिहाई समर्थन कायम राख्नका लागि राष्ट्रिय जनता पार्टीका लागि सुरक्षित राखिने छन् ।

‘मन्त्रीका आकांक्षी धेरै छन् । चित्त बुझाउनका लागि भए पनि अवसर नपाएका नेतालाई जिम्मेवारी दिने तयारी भएको छ,’ बालुवाटार स्रोतले भन्यो । खासगरी हालसम्म मन्त्री नभएका अनुहारलाई मौका दिने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । खाली रहेका ठाउँमा नयाँ अनुहारले नै मौका पाउन सक्ने सम्भावना अधिकतम् रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार १४:२२