सूचनाको शक्ति - The Power Of Information

        

जानकीमा समयमै काम नसकेका ठेक्का रद्द !

बाँके । बाँकेको जानकी गाउँपालिकाको सातौं (विशेष) गाउँसभाले नौ वटा संशोधन प्रस्ताव पारित गरेको छ । उपाध्यक्ष भुमिसरा धितालले पेश गरेको संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको हो । सभाले पाँचौ गाउँसभाबाट पारित विभिन्न बजेट तथा कार्यक्रमसमेत संशोधन गरेको छ ।

उपाध्यक्ष धितालले जानकी–१ साईगाउँमा सञ्चालन हुने स्मार्ट बाख्रापालन कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको ५० लाखको योजनामा २० प्रतिशत पालिकाको सहभागितामा व्यहोर्ने, पालिकाभित्रका विभिन्न पूर्वाधार निर्माण आयोजनाहरुको डीपीआर/आईई गर्नको लागि ७५ लाख विनियोजन गर्ने, राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएका कार्यक्रम गाउँपालिकाबाट व्यहोर्ने गरी सञ्चालन गर्ने प्रस्ताव पेश गरेकी थिइन् ।

उपाध्यक्ष धितालले नै प्रस्तुत गाउँपालिकाको लागि एक थान गाडी र एक एम्वुलेन्स खरिदको लागि रकम विनियोजन गर्ने, आर्थिक वर्ष २०७४/०७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेका ठेक्काहरु रद्द गर्ने, गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत अपुग तलव भत्ता संघीय सरकारसँग माग गर्ने प्रस्ताव पनि पारित भएको छ ।

गाउँसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले नेपाल सरकारको सुखी नेपाल समृद्ध नेपाल र प्रदेश सरकारको सुखी जनता, समृद्ध प्रदेशको मूल नारालाई आत्मसाथ गर्दै गाउँपालिकावासीको सुखी र समृद्धिका लागि विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दै आएको बताए ।

उनले संघ र प्रदेशको नीति तथा योजना, वार्षिक बजेटको उद्देश्य तथा लक्ष्य र नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्त गरेका प्रतिवद्धता समेतलाई मध्यनजर गरी गाउँपालिकाका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य, महिला बालबालिका जेष्ठ नागरिक, दलित तथा जनजातीको समावेशी र सहभागितामूलक योजना तर्जुमा पद्धतिको अवलम्वन गरी प्राथमिकताका योजनाहरु छनौट गरी कार्यान्वयन गर्दै आएको जानकारी दिए ।

गाउँपालिकाले ४ दशमलव ८ किलोमिटर पीसीसी सडक निर्माण, १२ किलोमिटर ग्राभेल, ५ दशमलव ५ किलोमिटर नयाँ निर्माण, २ सय मिटर कालोपत्रे, ४ वटा कल्भर्ट, १ दशमलव ५ किलोमिटर नाला, ३ नयाँ विद्यालय भवन निर्माण र गाउँपालिकाको सभाहल निर्माण लगायतका कार्यहरु सम्पन्न गरेको गाउँसभामा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार १०:३३