सूचनाको शक्ति - The Power Of Information

        

पाँच महिनामा ६९ बलात्कारका घटना, अधिकांश घटनामा मिलापत्र

दाङ । दाङमा बलात्कारका घटना बढेका छन् । जिल्लामा धेरैजसो बालिका र किशोरी बलात्कारको मारमा पर्ने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । इन्सेकको तथ्यांकअनुसार गएको साउनदेखि मंसिरसम्म जिल्लामा बलात्कारसम्बन्धी ६९ वटा घटना भएका छन् ।

अधिकांश बलात्कारका घटनामा आफन्त र चिनेजानेकै मान्छेको संलग्नता हुने गरेको प्रहरीले जनाएको छ । दाङमा पाँच महिनामा भएका ६९ मध्ये ४२ घटनामा बालिका पीडित भएका इन्सेकले जनाएको छ । बलात्कारमा ससुरा, शिक्षक, प्रहरी, दाजुभाइ, भान्जा, छिमेकी लगायतको संलग्नता हुने गरेको इन्सेक प्रतिनिधि जेएम सागरले जानकारी दिए ।

गतवर्ष दाङमा बलात्कार सम्बन्धी ५१ वटा घटना प्रहरीमा दर्ता भएका थिए । तर, यसवर्ष पाँच महिनामै ६९ बलात्कारका घटना दर्ता भएका छन् । बलात्कृत हुनेमा ५ वर्षीया बालिकादेखि ४५ वर्षकी महिलासम्म छन् । बलात्कारमा किशोरदेखि ५५ वर्षीय वृद्धसमेत संलग्न रहेको पाइएको छ । न्याय नपाउने डरले कैयौ पीडितले बयानसमेत फेर्ने गरेका छन् ।

इन्सेक प्रतिनिधि सागरका अनुसार बलात्कार घटनामा समेत मिलापत्र भएको छ । कतिपय पीडितले प्रहरीमा उजुरीसमेत गरेका छैनन् । यौनहिंसा र बेचबिखनमा परेका झन्डै ५० प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि अदालतमा मुद्दा चलिरहेका वेलासम्म बयान फेर्ने गरेको उनले बताए । ‘पीडक शक्तिशाली भएको अवस्थामा पीडितले बयान फेर्ने गरेको पाइएको छ,’ सागरले भने, ‘संरक्षणको अभावमा पनि पीडित आफूले लगाएको आरोपमा टिक्न सक्दैनन् ।’

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार १०:०७