कैलाली । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारले मनोमानीरुपमा पत्रकारिता गरिरहेको बताएका छन् । उनले सरकारबाट भन्दा पत्रकारलाई आफ्नै पत्रकारिताबाट खतरा हुने गरेको बताए । नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै बिहिबार सञ्चारमन्त्री बास्कोटाले पत्रकारसँग भएको कलमको उचितरुपमा प्रयोग हुन नसकेको बताए ।
उनले सूचना प्रविधि विधेयकमाथि धेरै प्रश्न उठेको भएपनि मिडियालाई फाइदा पुग्ने कुरा विधेयकमा उल्लेख भएको बताए । विदेशी सहयोग भन्दा पनि मिडिया आफ्नो स्रोतमा निर्भर हुनुपर्नेमा मन्त्री बास्कोटाले जोड दिए । उनले भने, ‘मिडिया आफ्नो व्यवसायप्रति आफै जिम्मेवार हुनुपर्छ । अब अरुको चाकडी गरेर बाँच्ने युगको अन्त्य भएको छ ।’ मिडियासँग सम्बन्धित कामका लागि सबै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी रहेको समेत मन्त्री बास्कोटाले बताए ।
प्रेस काउन्सिल, सूचना तथा सञ्चार केन्द्र लगायतले दिने सेवा सुविधाहरु सम्बन्धित क्षेत्रबाटै प्रदान गर्ने गरी काम अघि बढेको उनको भनाइ छ । सामान्य कामका लागि केन्द्र जानुपर्ने पत्रकारको बाध्यताको अन्त्य हुने उनले बताए । उनले पत्रकारितालाई सिध्याउन नभएर व्यवस्थित तरिकाले अगाडि बढाउने प्रयासमा सरकार लागेको बताए । प्रेसलाई मर्यादित, आलोचनात्मक चेत भएको क्षमतासहितको सबल प्रेस बनाउन आफु लागेको उनले बताए ।
निर्मला खडायत ।