सूचनाको शक्ति - The Power Of Information

        

नेपाल भ्रमण वर्ष २०२० : हवाई टिकटमै सकिन्छ पश्चिम आउने पर्यटकको पैसा

बाँके । भ्रमण वर्षलाई लक्षित गरी पर्यटनमन्त्री योगेश भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकका हवाई भाडादर कम गर्ने बताइरहे पनि अझै ठोस निष्कर्ष निस्किएको छैन । सरोकारवाला विमान कम्पनीसँग उनले निरन्तर प्रयास भइरहेको छ । विदेशी पर्यटकका लागि हवाई भाडादर कम भए त्यसले पश्चिमको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

पश्चिम पर्यटक नआउनुमा महङ्गो एयरफेयर पनि प्रमुख कारण रहेको पर्यटन व्यवसायीहरुको भनाई छ । भ्रमण प्याकेजको अधिकांस रकम एयरफेयरमै लाग्ने गरेको व्यवसायीहरु बताउँछन् । ‘अहो ! कति महङ्गो हो तिम्रोमा एयरफेयर ?’ काठमाडौंबाट पश्चिम नेपाल घुम्न नेपालगन्ज आएका विदेशी पर्यटक यहाँ बास बसेका बेला होटल सञ्चालकसँग यस्तै गुनासो पोख्छन् ।

त्यस्ता पर्यटकहरु यहाँसम्म हवाई जहाजमा आउँदा लाग्ने खर्चले त चितवन र पोखरा नै घुम्न भ्याइन्छ भन्ने तर्क गर्न पनि पछि पर्दैनन् । एयरफेयर निर्धारण गर्ने ठाउँमा नभएकाले होटल सञ्चालक प्रश्न सोध्ने पर्यटकलाई जवाफ दिन सक्दैनन् । यहाँका होटल व्यवसायीहरु औपचारिक छलफलमै एयरफेयरका बारेमा बोल्न थालेका छन् ।

होटल तथा पर्यटन व्यवसाय प्रर्बद्धनका बिषयमा हुने हरेक कार्यक्रममा एयरलाइन्स कम्पनीलाई कसरी हुन्छ एयरफेयर घटाउन लगाउनुपर्ने माग गर्दै आएका छन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल भन्छन्, ‘नेपालीलाई अधिकतम रु.१० हजार र विदेशी पर्यटकलाई झण्डै रु.२० हजार एयरफेयर लाग्दै आएको छ । हामी नेपाली बराबर गर भन्दैनौ । तर अलि कम गरेको भए पर्यटकको संख्या बढ्ने थियो जस्तो लाग्छ ।’

अध्यक्ष कँडेलले भ्रमण वर्ष २०२० सुरु भइसक्दासमेत यस विषयमा ठोस निष्कर्ष ननिस्किँदा सोचेजस्तो पर्यटक भित्र्याउन नसकिने बताए । ‘पश्चिम नेपालका पर्यटकियस्थल बिदेशीका लागि नयाँ छन् । काठमाडौं ओर्लिएपछि अधिकांस पर्यटकहरु पूर्वतर्फ केन्द्रीत हुँदै आएका छन् । उनीहरु प्रायः पश्चिम नेपाल आउँदैनन्,’ अध्यक्ष कँडेलले भने । ट्राभल्स कम्पनी जहाँ चर्चित पर्यटकीयस्थल छन्, त्यहाँकै ‘टुर प्योकज’ बनाउँछन् ।

‘पश्चिमका धेरैजसो पर्यटकियक्षेत्रका बारेमा विदेशीलाई थाहै छैन । उनीहरु काठमाडौं, पोखरा, सौराहा, सगरमाथा त्यतैत्यतै जान चाहन्छन्,’ होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कँडेल भन्छन्, ‘पर्यटकले आफै पश्चिम घुम्छु भन्ने अवस्थामा बाहेक अन्यथा ट्राभल्सहरुले महङ्गो एयरफेयरमा पर्यटकलाई यता पठाउँदैनन् । जसको मारमा हामी पर्छौ ।’

यहाँको पर्यटकीयस्थल चिनाउन बाँकी नै रहेका बेला एयरफेयरले झन् समस्या पारेको बुझाई यस क्षेत्रका होटल तथा पर्यटन क्षेत्रमा काम गर्नेहरुको छ । पर्यटक प्रवद्र्धनमा सक्रिय सिद्धार्थ हस्पिटालिटी अफ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानले थप उडान एयरफेयर लगायत विविध बिषय सम्बोधन हुन सकेमात्रै पश्चिम नेपालका पर्यटकीयस्थलमा विदेशी पर्यटक भरिभराउ हुने बताए ।

उनी भन्छन्, ‘कसले के गर्दा पश्चिम नेपाललाई फाइदा हुन्छ त्यो गर्न अग्रसर रहौं ।’ पश्चिम नेपालमा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न सबैभन्दा बढि पर्यटक आउँछन् । त्यसबाहेक कर्णाली प्रदेशको डोल्पा, हुम्लामा टे«किङ्गको रुची राख्दै आउने पर्यटक पनि छन् । तर नगन्य मात्रमा । नेपालगन्ज पुग्न झण्डै रु.२० हजार खर्च गर्नुपर्छ भने डोल्पामा पुग्न अझ दोब्बर खर्च हुने गरेको पर्यटन व्यवसायीहरुको भनाई छ ।

ठाउँको प्रचारप्रसार नभएको अवस्थासम्म पर्यटकलाई तान्न भए पनि एयरफेयर हेरफेर गर्नुपर्ने नेपालगन्जका पर्यटन व्यवसायीको माग छ । होटल व्यवसायी सिताराम यादव एयरफेयरसँगै पश्चिम नेपालका पर्यटकीयस्थल प्रचारप्रसार गर्नुपर्ने बताउँदै भन्छन्, ‘एयरफेयर मात्र होइन पर्यटन क्षेत्रको प्रोत्साहनका लाथि थुप्रै काम गर्न बाँकी छ । सरकार र निजीक्षेत्रको सहकार्य बिना सम्भव छैन । त्यसका लागि सबैले हातेमालो गरौं ।’

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ०९:०८