सूचनाको शक्ति - The Power Of Information

        

प्रचार अभावमा तपोवन क्षेत्र ओझेलमा

बझाङ । नेपालमा भ्रमण बर्ष २०२० सुरुवात हुँदै गर्दा बझाङमा रहेका कतिपय गन्तब्य स्थलहरु प्रसारप्रचारको नहुँदा ओझेलमा परेका छन् । जिल्लामा रहेका साइपाल हिमाल, सुर्मा सरोवर, कैलास गुफा, जयपृथ्वी राजाका बिभिन्न दरबारहरु प्रसारप्रचारको अभावमा ओझेलमा परेका छन् ।

राज्यको पर्यटकीय गन्तब्यमा पर्नै पर्ने ठाउँहरु गन्तब्यमा पर्न नसेके पनि नेपाल भ्रमण बर्ष २०२० को अवसरमा प्रसारप्रचार गर्न सक्ने हो भने यी स्थानहरु पर्यटकीय सम्भावनाको उत्कृष्ट गन्तब्यमा पर्न सक्छन् । जिल्ला सदमुकाम चैनपुरबाट थोरैपर सेतिनदी तर्ने बित्तिकै मष्टा गाँउपालिका लाग्छ । सोही मष्टा गाँउपालिका–४ स्थित आग्रागाँउको फेदी र सेती नदीको काखमा तपोवन क्षेत्र पर्छ ।

जुन जस्तोसुकै मौसममा पनि तातो पानी आउने एकमात्र ठाउँ हो । जिल्लाका स्थानीयहरुमा यो स्थानमा स्नान गर्नाले धर्म हुने र जीवनमा गरेका पापहरु पाखालिन्छन् भन्ने धार्मिक बिश्वास रहेको छ भने सोही ठाँउको तातो पानीले नुहाउँदा छाला सम्वन्धीका सम्पूर्ण रोगहरु निको हुन्छ भन्ने बैज्ञानिक विश्वास पनि रहेको छ ।

जमिनमुनिबाट एकाएक तातो पानी निस्कनु आफैमा आश्र्चयको बिषय भएपनि यस्ता क्षेत्रको विकास र प्रचारप्रसारले खासै गति लिन सकेको छैन । देश संघीयतामा गइसकेपछि गाउँको विकास गाउँपालिकाबाट हुनेमा स्थानीयले विश्वास लिए पनि वर्तमान अवस्थामा गाँउपालिका तथा नगरपालिकाहरुले सोचेजस्तो काम भने गर्न सकेको पाइँदैन ।

गाउँपालिकाले विकासका लागि लाखौं बजेट बिनियोजन गरेको भए पनि यस्ता पर्यटकिय तथा धार्मिक क्षेत्रमा भने गाँउपालिका र अहिलेका जनप्रतिनिधीहरुले खासै चासो नदेखाएको स्थानिय राजेश खड्काले बताए । उनले भने, ‘गाँउपालिकाका जनप्रतिनिधीहरुले सुरुमा गाउँको विकासको लागि केही कदम चालेजस्तो गरेको भए पनि त्यसमा निरन्तरता दिएको छैन ।’

तपोवन क्षेत्रमा गाँउपालिकाले सडकको ट्रयाक खोल्ने काम गरको भए पनि त्यसलाई सफा नगरी बेबारिसे छोडेका कारण तपोवन क्षेत्रको विकास हुन नसकेको खड्काले बताए । बझाङको सदरमुकाम चैनपुरदेखि करिव डेढ घण्टाको पैदलबाटो हिडेपछि तातो पानी (तपोवन) पुग्न सकिन्छ । नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण बर्ष २०२०’को लागि बझाङको मष्टा गाउँपालिकामा रहको तपोवन एक गन्तव्यस्थल बन्न सक्छ ।

यस्तै जिल्लामै अवस्थीत साइपाल हिमालको पनि प्रसारप्रचार हुन सकेको छैन । जिल्ला सदरमुकामबाट झण्डै ६ दिनको पैदल यात्रामा पुगिने साइपाल हिमाल एक मनमोहक हिमाल मध्येमा पर्छ । यस्तै सुर्मा सरोवर, कैलास गुफा लगायतका अन्य कुनै पनि पर्यटकीय सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार भने हुन सकेको छैन ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १७:३२