बाँके । बाँकेमा केही दिनदेखि चिसो हावासँगै शीतलहर चलेको छ । मंगलबार विहानैदेखि घाम लागेको छ । अरु दिनको तुलनामा मंगलबार चिसो कम रहेको छ । यसअघि नेपालगन्जको अधिकतम १२ र न्यूनतम तीन डिग्रीसम्म तापक्रम झरेको थियो ।
चिसो हावा र शीतलहरका कारण बालबालिकालाई असहज भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाले जाडो बिदा दिन विद्यालयलाई निर्देशन दिएको थियो । सो निर्देशनलाई यहाँका विद्यालयले अटेरी गरेका छन् । धेरैजसो विद्यालयको परीक्षा चलिरहेकाले विद्यालय बन्द गरिएको छैन । प्याब्सन नगर अध्यक्ष विकास बज्राचार्यले परीक्षा सकिने बित्तिकै जाडो बिदा दिइने जानकारी दिए ।
‘नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशनात्मक सूचना दिएको छ । हाम्रो परीक्षा चलिरहेकाले विद्यालय बन्द गर्न सकेका छैनौँ, परीक्षा सकिने बित्तिकै जाडो बिदा दिन्छौँ,’ नगर अध्यक्ष एवं युनाइटेड एजुकेशनल एकेडेमीका प्रिन्सिपल बज्राचार्यले भने, ‘परीक्षा आधामा कसरी बिदा दिनु ?’ चिसो बढेपछि उपमहानगरपालिकाको शिक्षा समितिले १५ देखि १८ गतेसम्म विद्यालय बन्द गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो ।
सत्यपाटी ।