सूचनाको शक्ति - The Power Of Information

        

भ्रमण बर्ष २०२० : धनगढीका पर्यटकीयस्थल घुम्न निःशुल्क बस सेवा

कैलाली । धनगढी उपमहानगरपालिकाले भ्रमण बर्ष २०२० लाई सफल पार्न सुरुका पाँच दिन पर्यटकका लागि निशुल्क बस सेवाको ब्यवस्था गर्ने भएको छ । आज धनगढीका सरकारवालाहरुसँग छलफल गर्दै भ्रमण बर्ष २०२० को सुरुको दिनमा नै सकारात्मक सन्देश प्रवाह गर्ने योजना धनगढी उपमहानगरपालिकाले बनाएको छ ।

बस सेवा त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारु होमस्टे गाउँ घुमेर पुनः त्रिनगर भन्सारसम्म सञ्चालन गरिने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भ्रमण बर्षलाई सफल बनाउनका लागि सबै पक्ष तयार हुनुपर्नेमा एकमत भएको बताए ।

पहिलो दिनबाट नै नेपाल भारत नाकामा पर्यटक यहायता कक्ष सञ्चालन गर्ने तयारी धनगढी उपमहानगरपालिकाले गरेको छ । नगर प्रमुख वडले भने, ‘त्यो दिन नेपाल भित्रिने पर्यटकहरुलाई चिया तथा कफी खुवाउने, फुलमाला र खादाले स्वागत गर्ने योजना छ ।’

सैगरी धनगढीका पर्यटकीय स्थलहरु, त्यहाँको दुरी, त्यहाँका बिशेषताहरु, पर्यटकिय गतिविधी र महत्वहरुलाई राख्नेगरी सोसल मिडियामा पेज बनाउने तयारी पनि नगरपालिकाको रहेको छ ।

बिभिन्न ब्रोसर तयार गर्ने, नगरको सरसफाई गर्ने, धनगढीदेखि भारतको पलिया बजारसम्म भ्रमण बर्ष २०२० को सन्देश दिनेगरी साईलक यात्रा गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए ।

धनगढी उपमहानगरपालिकाले प्रदेश तथा संघ सरकारले पर्यटक बर्ष २०२० सफल बनाउनका लागि गर्ने सबै गतिविधिमा सहभागिता जनाउने पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । भ्रमण बर्षकै अवसर पारेर होमस्टे गाउँ भादा थारु महोत्सवको पनि उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १४:५४