सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमको प्रसिद्ध र साझा भूवो खेल : पौराणिक गाथा र चिनारी

सुदूरपश्चिम क्षेत्र प्रसिद्ध र पौराणिक कला संस्कृतिले भरिपूर्ण क्षेत्र हो । कतिपय संस्कृतिहरु फरक जिल्ला पिच्छे फरक छन् भने केहि संस्कृति सुदूरपश्चिमका ९ वटै जिल्लामा सामुहिकरुपले मनाइन्छन् । त्यतिमात्र नभएर कर्णाली प्रदेशका जुम्ला, दैलेख, सल्यानसम्म पनि केहि संस्कृति र परम्परा साँझा छन् । ती मध्येको एक हो भूवो (भर्सो) जो सुदूरपश्चिमका जिल्लाहरुमा मात्र नभई जुम्ला, दैलेख, सल्यानसम्म पनि मनाउने गरेको पाइन्छ ।

सुदूरपश्चिमको एक मुख्य प्राचिन संस्कृति भएकाले यसको महत्व आत्मसात गर्दै प्रदेश सरकारले आजको दिनलाई लिएर सार्वजनिक बिदा पनि घोषणा गरेको छ । भूवो खेलको आममान्यता एउटै र साझा भए पनि खेल्ने र पोशाकका तरिका भने जिल्ला र समुदाय अनुसार केहि फरक फरक पाइन्छन् । त्यहि भुुवोको महत्व र खेल्ने शैली बझाङबासीको बुझाई र अनुभवमा यस्तो छ । भूवो चाड महाभारत युद्धमा पाण्डवका सैनिकहरुले कौरबसगँ धर्म युद्ध लडनुअघि गरिएको युद्ध अभ्याससँग जस्ताको तस्तै उतारिएको प्रतिबिम्ब हो ।

आफ्नै लय र भाकामा पञ्चेबाजाका साथमा नाचिने हतियारधारी समुहको ठूलो सामुिहक खेललाई नै भूवो र स्थानीय भाषामा भस्सो पनि भनिन्छ । भस्सोको सुुरुवात पौष कृष्णपक्ष चतुर्दशीको बिहानै राँको सल्काउँदै गाउँदै बस्तीबाट करिब डेढ किलोमिटर जति टाढा लगेर फालिन्छ र त्यहिबाट फेरी गाउँदै लावा लस्करका साथ भुवाखडोमा पुगिन्छ । भुवाखडोमा आगो हुन्छ, आगो तापेर नुवाईधुवाई सरसफाई गरेर घरमा मिठो–मसिनो खाना बनेको हुन्छ । खाना खाएर अनि आफ्ना हतियारहरु ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ ।

ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र चम्किलो बनाइन्छ । चम्किला तरवारहरु भर्सोको चाली भन्ने कवाज खेल्दा घाममा टलक्क टलक्क चम्किन्छन् । औंसीको भोलीपल्ट पनि लुगा कपडा धोएर हात हतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्धितिया तिथिको दिनमा ठूलै चाड मान्दछन्, छरछिमेकहरुले मिलेर आ–आफनो घरमा मीठा मीठा परिकारहरु पकाइन्छन् र छरछिमेकमा बाँडेर खाइन्छ । दिउँसो १२ बजेतिरबाट सबै भुवाखडोमा गएर भुवाको रौनक शुरु हुन्छ ।

बाजा गाजाका साथ दमाहाले पनि अनेक बाजा बजाउछन्, बाजा–गाजा, लस्कर हुदै औंशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार, बाजा गाजा भूवाको लय तालमा चम्कन शुरु हुन्छ । यो खेल अति नै रमाइलो र अचम्म लाग्दो खेल हो, जति रमाइलो छ त्यतिनै यो खेल फरक फरक किसिमको छ । यसका बिभिन्न लय भाका छन् । प्रत्येक दिनमा यो खेल फरक–फरक ताल र लयमा खेलिन्छ । चाली नै १४ किसिमका छन्, बगाली ९ किसिमका छन् । प्रत्येकले दाँया हातमा तरवार र बायाँ हातमा ढाल समातेर दौरा, लबेदा र सुरुवाल, स्टकोट, कालो टोपी, निधारमा ठूलो टिका लगाएर खेलेको देख्दा जो सुकैका आखाँ पनि लोभिन्छन् ।

नयाँनयाँ हेर्ने मानिस त यो अति नै जोखिम खेल रहेछ भनेर चाली र बगाली खेलको दृष्य हेर्दा आखाँ नै चिम्लिन्छन् । साँच्चिकै लडाई हो कि कसले कसलाई हाने भन्ने नै थाहा हुँदैन । तरवार र ढाल फनफनी घुम्दछन् । भस्सो लामो समयसम्म खेलिने चाड हो । यो चाड पौष शुक्ल पक्ष द्धित्तियादेखि चतुर्दशीसम्म खेलिन्छ । भखाडामा १/२ दिन खेली सकेपछि गाउँगाउँका मुख्य मानिस (नायक, गाउँमा बिभिन्न जाति भए प्रत्येक जातिको जेठोपट्टिको हाँगाको घरमा, त्यसै जिम्मावाल मुखिया, कर्मचारी, शिक्षक र अन्य मान्यजनको घरमा गएर भूओ खेल्दछन् ।

त्यसैप्रकारले यो वर्ष तीर्थ गरेर फर्केका मानिसको भरमा, त्यो बर्ष जस्को घरमा छोरा जन्मेको छ, त्यसको घरमा गएर भर्सो खेल्छन् । जसको घरमा भुओ खेलिन्छ, त्यस घरको मूलिले चिउरा, फलफुल र पैसाहरु दिएर आर्शीवाद दिने चलन छ । लगभग १४ दिनसम्म खेलिसकेपछि बिधिवत रुपमा यो चाडको त्यस बर्षका लागि समापन गरिन्छ । सुदूरपश्चिमकै एक पौराणिक गाथासँग जोडिएको प्रचानि संस्कृति हिजो आज आएर संरक्षण र सामाजिक बिसंगतिका कारण लोप हुने सम्भावना धेरै छ ।

भारी खेल

यो चाडमा बिना हतियार पनि नाचिन्छ र गाइन्छ, जसलाई भारी खेल भनिन्छ । ‘टेउला, मेउला’ खेलिन्छ जसमा राग र सुरका कुरा हुन्छन् । जस्तै
‘लामा गणा सिधा धणा, धारु भाले,
गैरी गाउँकी रम्भा चेली जैसी कठै’
भनेर खेलिने खेलमा माया प्रेमको राग र सुर हुन्छ । जैसुनमा खेलीने खेलामा ईतिहासका कुराहरु हुन्छन् । जस्तै
‘बार बर्ष सिंगारु यै गोरो मुहरा,
लफुलुफ्या सिंगारुय, झुपझुप्या केश,
जैले जन्मे सिगांरुय उलै परदेश’
भनेर गाईने जैसुन खेलमा खड्का जातीको इतिहास लुकेको पाइन्छ भने भर्सोको समयमा खेलिने खेलमा ठाउँको बर्णन वीर जातिको बर्णन पनि पाईन्छ । जस्तै
‘नेपालका उना कुना, वास्या तितरी,
नैपाल नझान्या चेलो गर्बै तिबरी
नैपालको गोरखा फौज क्या रनु रन्छ, क्या खानु खान्छ
नैपालको गोरखा फौज क्या धानु गर्छ ?
गोरखा फौजसँग कति फौज छ ? क्या हतियार छन् ?
गोरखा फौजका अघिमान्या (सेनापती) को छन् ?
फौजका कति घोडचढी छन् ? थापाकाजी, अघिमान्या, घोडचढी’
यस्तै लामो फौजको बर्णन छ । मानिसलाई के गर्नुपर्छ के गर्नुहुँदैन भन्ने कुरा पनि अर्तिजुक्तिका कुरा पनि यसै भर्सोको आधारमा अबुझ जनलाई चेतना फैलाउने काम हुन्छ । जस्तै
‘बासी पानी नखानु,
सन्यूतो (आलो) दाउरा नबाल्नु’
त्यसै भर्सो भनेको बहुभाषिक, बहुसांस्कृतिक, बहुआयामिक चाड हो । यसमा अध्यात्मिक कुरादेखि बैज्ञानिक कुराहरुमा पनि समेटिएका छन् ।

ज्यूनापुरी धारु भले

भूओ खेलमा वीरता, करुणा आदि बढी देखिन्छ भने चाली बगाली युद्ध अभ्यासको रुपमा लिइन्छ । ज्यूनापुरी धारु भलेमा केटा र केटीको प्रेमको प्रसंग आउँछ । यसमा लामो स्वर मिलाएर खेल्दछन् । यो खेलमा पनि बृत्ताकाररुपमा खडा हुन्छन् । एउटाले अर्काको पाखुरामा समातेर सबैको हात सिधा पार्छन अर्थात आफ्नो दुबैतीरको मानिसको पाखुरामा सोझो पारेर समात्छन् । यसमा बाजा बजाउनुपर्दैन ।

यसमा केटाको नाम साई राजा हुन्छ । केटीको नाम रम्भा चेली । केटा भंैसी गोठालो, केटी गाईकी ग्वाली । केटाले भैंसी फुकाएर काला पाल्त (जंगल) मा लिन्छ । केटीले गोरु लिएर गैरी तोली जान्छ । केटा अग्लो ढुंगामा बसेर बाँसुरी र केटीले बिनायो बजाउँछन । बाँसुरीको बोलीले केटीलाई तँलाई लिन्छु भन्छन्, केटीले बिनायो बजाई तिमीसँग जान्छु भन्छिन् । सबै ग्वाला मिलेर आधा जन्ती, आधा बरियाती हुने सल्लाह गर्छन र जन्तिलाई ज्योतिषको घरमा दुबैको विवाहकोलागी दिन जुराउन पठाउँछन् । बाटोमा पतारो, दौराला आदिलाई सोध्दै ज्योतिषको घरमा पुग्छन, र दुबैजनाको विवाहको लागि साइत जुराउन अनुरोध गर्छन् ।

ज्योतिषलाई एक मानो चामल, दहीको ठेकी निकाल्छन्, ज्योतिषले धुलौटो (ज्योतिषले माटोको धुलो फिजारी काठको छेस्काले लेख्ने र मेट्ने काठको तख्ता) मा हेरेर जुरेको कुरा बताउँछन् । यो खबर लिएर जन्ती फर्केपछि गोवरको मस्युटो, गौतको तेल, बालुवाको चामल, लठ्ठीको मुसल आदि बनाई आधा ग्वाला माइती र आधा ग्वाला जन्ती भएर दुबैको विवाह गर्छन् । यसैलाई लयवद्ध गरी गाउँछन । यसमा पनि अगाडिपट्टिका ५÷७ जनाले माणा हाल्ने, अरु सबैले ज्यूनापुरी धारु भले र धारु भलेभाई धारुभले पालैपालो गरि भन्दछन । जस्तैः
सल्यानका साई महाराजा,
ज्यूनापुरी धारु भले
गैरा गाउँकी रम्भा चेली,
धारु भलेभाई धारुभले
मुलपाठका अन्य अंशहरु
कतना भया साई महाराजा
कतनी भैछन रम्भा चेली
बाड बडेली साई महाराजा
गुरीमुरी रम्भा चेली
कोरे जेठा भया कठ
जर्म जेठा साई महाराजा
कर्म जेठी रम्भा चेली
साई महाराजा भैसी गोठाला
रम्भा चेली गाई गवाली
साई महाराजाले भैसली खोया

रम्भा चेलीले गवलु खोयो
भैसा लाया काला पाल्त
गवलु लायो गैरी तोली
उदी वन गवलु लिउत
बाग की बग्याईछ कठ
पुणी बन गवलु लिउत
ढाण्याकी ढण्याई छ कठ
गोरु लायो गैरी तोली
भैसी लायो काला पाल्त
आफु बस्या उची ढुंगी
साई महाराजाले बाँसुरी गाड्यो
रम्भा चेलीले बिनायो गाडी
साई महाराजाले बासुली ठोक्यो
रम्भा चेलीले बिनायो बजायो
बाँसुलीका शब्दले
क्याउरे बोलुँ बोल्यो कठ
बाँसुरिका शब्दले
तोईरे लिउला भन्यो कठ
बिनायाका शब्दले
तेराई झाउँला भन्यो कठ
हैन हैन ग्वाला सातौ
ग्वाला खेल अरिहेलु
साई महाराजा, रम्भा चेलीको
ब्याउ रचाई हेलुँ कठ………….

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार १०:१२