सूचनाको शक्ति - The Power Of Information

        

श्रीमती कुट्ने श्रीमान प्रहरी खोरमा

श्रीमानको कुटाइबाट घाइते रमा जाग्री ।

श्रीमानको कुटाइबाट घाइते रमा जाग्री ।

बझाङ । आफ्नो श्रीमतीलाई निर्घात कुटपिट गर्ने दुर्गाथली गाँउपालिका–६ सैनपसेलाका राजु जाग्रीलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । राजुकी श्रीमती रमा जाग्रीले श्रीमानले आफुलाइ अनाहक निर्घात कुटपिट गरेको निवेदन प्रहरीमा दिएपछि राजुलाई पक्राउ गरेर हिरासतमा राखिएको हो ।

एक साताअघि राजुले रमालाई मरणासन्न कुटपिट गरी चार दिनसम्म कोठामै बन्धक बनाएर राखेको निवेदनमा उल्लेख गरिएको छ । बाहिर कसैलाइ जानकारी नदिएर कोठामै बन्धन बनाएर राखेकी रमालाई उनकी छोरीले आफ्ना ठुलो बुवालाई मोवाइलमा मेसेज गरेर जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

कोठाबाट बाहिर निकालेपछि रमाले छोरीसहित आफन्तहरुको साथ सहयोग लिई प्रहरी कार्यालयसहित महिला अधिकार मञ्चमा न्यायका लागि उजुरी दिएकी थिइन् । ‘रमाको शरीर भरी निलडाम र चोटहरु देखिन्छन् । रमा न्यायका लागि महिला सुरक्षित गृहमा आउँदा साह्रै दुख लाग्यो र उनको न्यायका लागि हामीले पहल गरिरहेका छौं,’ अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले भनिन् ।

रमा अहिले सुरक्षित गृहमा खान बस्नसहित उपचार गरिरहेकी छन् । दुई छोराछोरीकी आमा रहेकी रमा यसअघि पनि श्रीमानले आफुलाई कुटपिट र दुर्व्यवहार गर्दै आएको बताउँछिन् । उनले श्रीमान बाहिर केटीसँग लागेकोले आफुलाई बेवास्ता गर्ने गरेको दुखेसो गरिन् । प्रहरी हिरासतमा रहेका राजुलाई अभद्र व्यवहार सम्वन्धी मुद्दा दर्ता भएको प्रहरीले नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।

राजु आफ्नो श्रीमतीसहित विगत लामो समयदेखि सदरमुकाम चैनपुरमा राजु अटो वर्कसप नामक ग्यारेज राखेर बस्दै आएका थिए । रमाले राजुसँग सम्बन्धविच्छेद गर्ने अडान लिएकी छन् । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार महिला हिंसाका घटनाहरु वर्षमा एक सयबढी दर्ता हुने गरेका छन् । राजुले यसअघि पनि केदारस्युँ गाँउपालीकाकी उपाध्यक्षलाई दुर्व्यवहार गरेको भन्दै गाली गलौज गरेको अडियो भाइरल भएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०७:१८