सुर्खेत । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।
जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउ लगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन् । ती समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको उनले बताए । ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग जुटाइएको छ ।
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए । ‘चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ,’ उनले भने, ‘कपडा पाएपछि अलि राहत मिलेको छ ।’ प्रतिष्ठानका अध्यक्ष खड्काले लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताए । ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएका छन् । रासस
सत्यपाटी ।