बाँके । बदली तथा वर्षा गराउने मौसमी प्रणालीको प्रभाव नेपालमा नरहेपनि चिसो गराउने प्रणाली भने सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरि केही दिनयता लगातार जाडो बढेको छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहनु रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपालतर्फ चिसो हावा बहेकोले देशभर नै जाडो बढेको छ । केही दिनयता देशभर नै तापक्रम कम हुने क्रम छ । आइतबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसमविद् श्रेष्ठका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहान नेपालगन्जको अधिकतम तापक्रम १२.६ डिग्री सेल्सियस रहेको थियो भने न्युनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो ।
यस्तै शनिबार दिपायलको न्युनतम तापक्रम २.८, डडेल्धुराको २.५ र धनगढीको २.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । उता वीरेन्द्रनगर सुर्खेतको न्युनतम तापक्रम १.३, जुम्लाको माइनस ६.०, दाङको २.९ र भैरहवाको ४.५ डिग्री रहेको छ । दिउँसो बिस्तारै हुस्सु हट्दै गएपनि चिसो भने नहट्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन् ।
तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ । तापक्रम घट्ने या यस्तै रहने क्रम केही दिन जारी रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रमा घाम लागेसँगै कुहिरो बिस्तारै हट्दै जानेछ । तर तराईका क्षेत्रमा दिनभरजसो नै हुस्सु र कुहिरो कायम रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
सत्यपाटी ।