सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका उद्योगी व्यवसायीमाझ चुनावी रौनक

बाँके । माघ ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि उद्योगी व्यवसायीबीच चहलपहल सुरु भएको छ । नन्दलाल वैश्य नेतृत्वको वर्तमान कार्यसमितिको अवधि समाप्त भएको छ महिनापछि सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

निर्वाचनका लागि सत्तारुढ नेकपा समर्थित उद्योगी व्यवसायीहरूको प्यानल र काँग्रेस तथा राप्रपा समर्थित उद्योगी व्यवसायीहरूको प्यानल खडा गर्ने आन्तरिक तयारी भइरहेको छ । नेकपा समर्थित उद्योगी व्यवसायीहरू सङ्घका वर्तमान प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)को नेतृत्वमा निर्वाचनमा होमिने आन्तरिक सहमति गरेका छन् ।

यसैगरी निर्वाचनमा तालमेल गर्ने सहमति गरेका काँग्रेस र राप्रपा समर्थित उद्योगी व्यवसायीहरूको प्यानलको नेतृत्व ललितकुमार रौनियारले गर्ने टुङ्गो लागेको छ । तत्कालीन माओवादी केन्द्रका नेता रौनियार पार्टी एकतापछि असन्तुष्ट रहेकामा काँग्रेस समर्थित उद्योगी व्यापारी प्यानलको नेतृत्व गर्न लागेका छन् । सङ्घको निर्वाचनका लागि तीन हजार ४७ जना सदस्य मतदाता रहेका छन् । यो सङ्ख्या अघिल्लो निर्वाचनको भन्दा केही बढी हो ।

तीन वर्षअघि भएको निर्वाचनमा दुई हजार ९७० मतदाता रहेका थिए । सङ्घका अध्यक्ष वैश्यले निर्वाचनको तयारीका लागि सचिवालय गठन गरेर निर्वाचनको तयारी सुरु गरिएको जानकारी दिए । दुईवटै प्यानल कार्यसमितिका उम्मेदवार छनोटका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । यससँगै मतदातामाझ पुग्दा उद्योगी व्यवसायीका एजेन्डासमेत तय भइरहेको व्यवसायी नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार १०:०४