सूचनाको शक्ति - The Power Of Information

        

रोकिएन बालबिवाह : सानैमा सन्तान, आमा र बच्चा दुवैको ज्यान जोखिममा

कैलाली । कानुनले २० वर्षमूनिको बिवाहलाई दण्डनीय मानेको छ । कसैले जवरजस्ती बालबिवाह गर्छ भने त्यसलाई सजायको ब्यवस्था पनि कानुनमा उल्लेख गरिएको छ । तर, कैलालीको टीकापुर नगरपालिकाको ज्योतिनगरमा भने अधिकांश किशोरीहरु बालबिवाह गरेका भेटिन्छन् । ज्योतिनगरमा वादी र राजी समुदायको बसोबास छ । अल्पसंख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालबिवाह भएको पाइन्छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै बिवाह भएको छ ।

त्यो बस्तीमा १६ देखि १९ वर्ष उमेरका किशोरी आमाहरु धेरै भट्टाउन सकिन्छन् । सोही बस्तीकी पममती वादीलाई आफ्नो बिबाह भएको पनि याद छैन । बालबिवाह गरेका कारण उनी सानै उमेरमा ९ सन्तानकी आमा बनिन् । ‘विवाह हुँदा म कति बर्षकी थिए त्यो त जानकारी भएन, तर, म छोरी भएर बाँच्नुपर्ने उमेरमा आमा बनेकी थिए’ पममतीले भनिन्, ‘अहिलेको जस्तो बालबिवाह गर्नुहुँदैन भन्ने शिक्षा दिइँदैनथ्यो हामीलाई । विद्यालय देख्न नपाएका हामीलाई विवाहको अनुकुल उमेर कति हो भन्ने पनि थाहा थिएन् ।’

केटा मन परेपछि उनले बिवाह गरिन् । तर, सानै उमेरमा बच्चा जन्मिएका कारण उनका सन्तानले राम्ररी स्याहार पाएनन् । जन्मिएका ९ सन्तानमध्ये पममतीले ३ सन्तानलाई मात्र हुर्काउन र बढाउन सकिन । ६ सन्तानको उचित स्याहार गर्न नसक्दा उनले बचाउँन सकिनन् । उनले भनिन्, ‘सानी थिए म आमा बन्दा सन्तानको कसरी हेरचाह गर्नुपर्छ भन्ने कुनै उपाय थिएन् मसँग । त्यतिबेला वालविवाह नगर । बालबिवाह गरिहाले पनि सानै उमेरमा सन्तान नजन्माउ भनेर सुझाव दिने पनि कोहि थिएनन् ।’

पममतिका श्रीमान मादल बनाइ बेचेर जिविका चलाउँथे । केहि बर्षअघि उनले पनि पममतीको साथ छोडेर गए । अहिले उनलाई बालबिवाह गरेकोमा पछुतो लाग्छ । ‘सानैमा विवाह गरे । सन्तान बर्षैपिच्छे जन्मिन थाले । केहि बर्षपछि श्रीमानले पनि साथ छोडेर गएपछि सन्तान हुर्काउन धेरै संघर्ष गर्नुपर्यो मैले,’ उनले भनिन्, ‘बालबिवाह गरेकोमा ठूलो पछुतो लाग्छ मलाई ।’ सोहि ठाउँमा कक्षा ८ पढ्दै गर्दा वालविवाह गरेकी अर्की राजी किशोरी पनि बालबिवाह गरेकोमा अहिले पछुतो गर्छिन् ।

आफुसँगैका साथीहरु कलेज पुगेको देख्दा कहिलेकाँहि उनको मन अमिलो हुन्छ । आफुले पनि मायाप्रेममा परेर वालविवाह गर्नुको साँटो पढाईमा ध्यान दिएको भए सुन्दर भविष्य हुने थियो भन्दै उनी मन खल्लो पार्छिन् । उनी भन्छिन्, ‘नौ कक्षामा पढ्दै गर्दा वालविवाह गरे । त्यतिबेला १७ बर्षकी थिए । म १९ बर्षकी हुँदा नै आमा बनिसकेकी थिए ।’ जन्मिँदा सन्तान कमजोर जन्मियो । जसोतसो आइसियुमा राखेर सन्तानको ज्यान जोगाएकी भए पनि अहिले उनको आफ्नै स्वास्थ्य बिग्रिएको छ । ‘ढाँड दुखेर हैरान हुन्छु । अहिले बारम्बार यहि कुरा आभाष हुन्छ मलाइ, बालबिवाह नगर्नु रहेछ ।’

उनकै समुदायकी अर्की राजी महीला अहिले २२ वर्षकी भइन् । १६ बर्षमा बालबिवाह गरेकी उनका दुई सन्तान छन् । उनी भन्छिन्, ‘सानै उमेरमा बिबाह गर्दा पाठेघर बिग्रने, कमजोरी बढ्ने, काम गर्न समस्या हुने लगायत अन्य धेरै स्वास्थ्य समस्या आउने रहेछन् । सानै उमेरमा बिवाह गर्नुहुंदैन ।’ उनी अहिले आफुभन्दा साना बहिनीलाई यहि कुरा सम्झाउने गर्छिन् । ‘समय समयमा केहि न केहि समस्या देखिइरहन्छ । बालबिवाह गर्दा के हुन्छ भन्ने कुरा मलाई स्वास्थ्यले सम्झाइरहन्छ,’ उनले भनिन् ।

सोहि ठाउँकी स्वयंसेविका जानकी सरु मगरका अनुसार ज्योतिनगरमा धेरै किशोरीको बालबिवाह भएको छ । केहिको परिवारका सदस्यले बालबिवाह गर्ने गरेका छन् । केहि युवतीहरु स्वयंले नै मायाप्रेममा परेर बालबिवाह गर्ने गरेका छन् । उनी ज्योतिनगरमा मात्रै १८–१९ जना २० बर्षमुनिका किशोरी गर्भवती रहेको बताउँछिन् । ‘यहाँका गर्भवतीको तथ्यांक हेर्दा १५ देखि २० बर्षमूनिका बढि देखिन्छन्,’ उनले भनिन्, ‘पहिले थाहा नपाएर युवतीहरु बालबिवाह गर्ने गर्थे । अहिले मोवाइल, फेसबुकजस्ता सामाजिक सञ्जालका कारण युवतीहरु बढिजसो बालबिवाहमा पर्ने गरेका छन् ।’

ज्योतिनगर गाउंमै जनज्योति आधारभूत विद्यालय छ । ज्योतिनगरमा रहेका अल्पसंख्यक राजी र पिछडिएको वादी समुदायका बालबालिका यही पढ्छन् । कक्षा ८ पढिसकेपछि धेरै किशोरीको बालबिबाह हुन्छ । ‘अहिले पनि यहाँ बालबिवाह रोकिएको पाइँदैन,’ जनज्योति आधारभूत विद्यालय ज्योतिनगरका शिक्षक शंकर न्यौपाने भन्छन्, ‘यो विद्यालय ८ कक्षासम्म छ । यहाँबाट ८ कक्षा उत्तीर्ण गरेर गएका धेरै किशोरीको बालबिवाह भएको देखिन्छ ।’ न्यौपाने बालबिवाह रोक्नका लागि विद्यालयले हरेक साताको शुक्रबार जनचेतामूलक कार्यक्रम गर्ने योजना बनाएको बताउँछन् ।

कलिलो उमेरमा हुने विवाहले किशोरीको मात्रै नभएर जन्मिएको सन्तानको पनि जिवन खतरामा पार्ने गर्छ । किशोरीहरु साथीहरुको लहलहैमा लागेर त केहि सामाजिक सञ्जालको दुरुपयोगका कारण बालबिवाह गर्न पुग्छन् । त्यसैले अभिभावक बढी सचेत रहनुपर्ने आवस्यकता देखिएको छ । बरिष्ठ प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा.गणेशबहादुरसिह बालबिवाहले आमा र बच्चा दुबैको स्वास्थ्यमा समस्य हुने बताउँछन् । उनी भन्छन्, ‘बालबिवाह गर्दा किशोरीलाई उमेरले धान्न सक्ने भन्दा बढि जिम्मेवारी थपिन्छ । शारीरिकरुपमा पनि परिपक्व नभई बच्चा जन्मदा बच्चाको मृत्यु हुन्छ । बच्चाको बृद्धि विकासमा पनि बाधा पुग्छ ।’

स्वयम किशोेरीलाई पनि आङ खस्ने, ढाँडको समस्या, सेतो पानी बग्ने लगायतका समस्याहरु देखिने गरेको उनले बताए । देशका सात प्रदेशमध्ये सबैभन्दा बढी बालबिवाह सुदूरपश्चिममा हुने गरेको छ । बालबिवाहको कारण बैवाहिक जीवन दिगो नहुने मात्र होइन, प्रजनन उमेर नपुगेरै बच्चा जन्माउने भएकाले महिलाको शारिरीक अवस्था समेत कमजोर बनाउँछ । बालबिवाह नियन्त्रण गर्न सरकारले कानुन बनाए पनि त्यसको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा बालबिवाह रोकिन नसकेको बालअधिकारकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार १४:२६