सूचनाको शक्ति - The Power Of Information

        

डिआईजी विश्वराजको ‘अस्वभाविक उदय’

काठमाडौं । काभ्रेको मण्डन देउपुरीमा भएको जीप दुर्घटनामा नेपाल प्रहरीका तत्कालिन बाहलवाला डिआईजी सुशील भण्डारीसहितको मृत्यु भयो । भण्डारीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । बाहलवाला डिआईजीको नै मृत्यु भएपछि उक्त पद रिक्त भयो । त्यो रिक्तता पूर्ती गर्नु प्रहरीका लागि अनिवार्य बन्दा डिआईजीमा उदय भए विश्वराज पोखरेल ।

प्रहरी प्रधान कार्यालयले पोखरेलको नियुक्ति रोक्न सकेन । उक्त प्रस्ताव गृहमन्त्रालय मार्फत नै मन्त्रिपरिषद्को बैठकमा पुगेको थियो । डिआईजीमा नियुक्त भएका पोखरेलले प्रहरी प्रधान कार्यालयमा प्रवक्ताको जिम्मेवारी पाए । अन्य सिनियर प्रहरी अधिकारीलाई नै छिचोलेर डिआईजी बन्दा प्रहरीको चेन अफ कमान्डमा समस्या आयो भन्नेसम्मको चर्चा चल्यो । तर भइसकेको निर्णयलाई, त्यहाँमाथि सरकारको निर्णयलाई छेक्ने रोक्ने कुनै आधार थिएन ।

डिआईजी पोखरेलको अहिलेको आकस्मिक सरुवाले झनै अस्वभाविक छलाङ मारेको चर्चा प्रहरी वृत्तमा चलेको छ । तीन जिल्लाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रुपमा भर्खरै उनको सरुवा भएको छ । यो सरुवा भन्दा पनि जिम्मेवारी अदलीबदली जस्तो भएको छ । रानीपोखरीमा उनीभन्दा सिनियर डिआइजी शैलेश थापा क्षेत्रीको जिम्मेवारी थियो । क्षेत्रीलाई उनले कमाण्ड गरेको प्रवक्ताको जिम्मेवारी दिइएको छ । जबकि, एसएसपी हुँदा नै क्षेत्री प्रवक्ता थिए ।

पोखरेलको सरुवापछिको अर्को चर्चा अर्का डिआइजी विदामा बस्नु बनिदियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्याय । प्राय महानगरीय प्रहरी कार्यालयमा सिनियर डिआईजी वा एआईजी पठाउने चलन थियो । जसका कारण विमानस्थल डिआईजीले रिपोर्ट गर्न सजिलो हुन्थ्यो । आफूभन्दा कनिष्ट डिआईजी पोखरेललाई रिपोर्ट गर्न परेपछि उनी विदामा बसेको चर्चा छ ।

‘प्रहरी संगठनमा चेन अफ कमान्डसँगै मोरलको पनि विषय आउँछ । सिनियरले जुनियरलाई मोरल डाउन हुनेगरी कसरी रिपोर्ट गर्न सक्छ, बाहलवाला हुँदा ?,’ एक पूर्वएआईजी भन्छन्, ‘त्यसैकारण उहाँ विदामा बसेको वा सरुवा मागेको हुनुपर्छ । यो समस्या समाधानका निम्ति विमानस्थलमा एसएसपीको नेतृत्वको प्रहरी टोली राख्ने उपाय पनि छ ।’ रिक्त डिआईजीमा एकाएक बढुवा हुँदा नै पोखरेलको ‘भिटो’का सन्दर्भमा प्रश्न उठेको थियो । कतिपयले नेपाल प्रहरीमा उनको अस्वभाविक उदय भएको पनि चर्चा गरेका थिए ।

अहिले उनको अस्वभाविक छलाङ देखिएको छ । आफूभन्दा सिनियर डिआईजीले नै रिपोर्ट बुझाउनुपर्ने पोष्टिङ उनले पाएपछि यो चर्चा स्वभाविक बन्यो । ‘महानगरीय प्रहरी कार्यालयमा उनको पोष्टिङ राजनीतिक बलका आधारमा भएको हो, अझ उनी सोही दबदबाको आधारमा आफूभन्दा सिनियरलाई उछिन्दै आईजी नै हुने लाइनमा छन्,’ उच्च स्रोतले भन्यो । यतिमात्र होइन, पोखरेलले अनिवार्य रिपोर्ट गर्ने प्रहरीका मुख्य कार्यालय काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध महाशाखाका प्रमुखहरू क्रमश उत्तम सुवेदी र सहकुल थापा छन् ।

कतिपयले उनीहरूको मोरलले पनि काम गर्न कठिन हुनसक्ने दाबी गरेका छन् । ‘आफूमाथिका अफिसर आफ्ना ब्याची भएपछि चेन अफ कमान्डका हिसाबले मात्र सोचिन्न, व्यवहारिक पाटोमा नैतिकताको कुरा आउँछ,’ एक अधिकारी भन्छन्, ‘यसले पोखरेल आफैंलाई पनि घाटा गर्न सक्छ । ति अधिकारीले नैतिक व्यवहारतिर ध्यान दिए वा दिएको निर्देशन राम्रोसँग कार्यान्वयन गरेनन् भने ?’ त्यसो त एसएसपी हुँदा नै पोखरेल विवादमा तानिएका थिए । काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा भक्तपुरमा अपहरण गरी हत्या गरिएका बालक निशान खड्का प्रकरणमा पोखरेलको गल्ती भएको भनिएको थियो ।

सोही बेला प्रहरी प्रधान कार्यालयले उनको सरुवा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा गरेको थियो । त्यो काज सरुवामा पनि उनी गएनन् । ‘स्वभाविक रुपमा नै उनको ब्याचका पहिलो नम्बरमा रहेका थिए । अस्वभाविक केही नगर्दा पनि उनी ब्याचमा टपेर अगाडि बढ्न सक्थे । तर, यहि बेला चलखेल हुनसक्ने विषयलाई नजरअन्दाज नगरी राजनीतिक पहुँचको पछि उनको दौड हावी भयो,’ स्रोतले भन्यो, ‘त्यसैको परिणामका आधारमा अहिले उनले पाएको जिम्मेवारीलाई बुझ्नुपर्छ ।’

पोखरेलको बढुवा र सरुवामा आईजी सर्वेन्द्र खनाल पनि चेपुवामा परेको बताइन्छ । मन्त्रिपरिषद्ले गरेको निर्णय मान्नुपर्ने उनको बाध्यता छ । यद्यपि खनाल घर जानु दुई महिना अघि मात्र भएको यो सरुवालाई अनेक कोणबाट व्याख्या र टिप्पणी गर्न थालिएको छ । कतिपय भने डिआईजी पोखरेल अब्बल अधिकृत भए पनि उनी जुन प्रक्रिया र बाटोबाट अगाडि बढिरहेका छन् त्यसले अन्य प्रहरी अधिकारीका बारेमा पनि न्यायीक हिसाबले सोच्नुपर्ने कमजोरी सरकारबाट भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १५:४९