सूचनाको शक्ति - The Power Of Information

        

नेकपाभित्र ‘पूर्व’को ह्याङ, कटाक्ष गर्दै कार्यकर्ता

काठमाडौं । एकता प्रक्रियाका कतिपय संगठन ऐंठनमा रहेका बेला नेकपा भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकता घोषणा गर्यो । संयोजकमा रामप्रसाद सापकोटा दिपशिखा र सहसंयोजकमा रमेश पौडेलको नामसहित विभिन्न युवालाई अनेक जिम्मेवारीको पनि घोषणा भयो । यसले नेकपा एकता प्रक्रियामा बल पुगेको सन्देश गएको थियो ।

तर, यतिबेला माउ पार्टी एकतामा सक्रिय रहेका बेला, काम गरिरहेका बेला त्यहि भ्रातृ संगठनका दुई मुख्य नेतामा भने ‘पूर्व’ एमाले र माओवादीको ह्याङ बाँकी रहेको देखिन थालेको छ । यो चाहिँ जारी स्थायी समितिको बैठकलगायतमा पार्टी चलायमान हुन थालेपछि देखिएको बिम्ब हो । पार्टीमा कार्यकारी अधिकार पाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर बैठकलगायतका काम सक्रियता पारेका छन् ।

तर यसलाई प्रचण्डको मात्र काम भन्दै दिपशिखाले जस दिँदै होच्याएर लेखे, स्थायी कमिटीमा प्रचण्ड एक्लै होमिए । प्रचण्डप्रति अनुदार रहेका पूर्वएमालेका कतिपय नेताहरूको भरोसा जित्न प्रचण्ड प्रारम्भीक रुपमा सफल पनि देखिएका छन् । ठूलो तर चिरैचिरा परेको पार्टीको जिम्मेवारी प्रचण्डको एक्लो काँधले कतिसम्म थाम्न सक्छ, त्योचाहिँ हेर्न बाँकी छ ।

दिपशिखालाई जवाफ दिँदै पौडेलले उनैको स्ट्याटसको स्क्रिन सर्ट राख्दै लेखेका छन्, यो पार्टी एक्लै हैन सामुहिक दुबै अध्यक्षको पहल र अगुवाइमा चलेको हैन र कमरेड ! कि केपी कमरेडको नाम लिन मिल्दैन ? दुई अध्यक्षले कार्य्विभाजन गरी सरकार र पार्टीलाई चलायमान बनाउन कसरत गरिरहेका बेला ‘पूर्व’ एमाले र माओवादीको ह्याङ अझै पनि कायम रहेको मतभेद सामाजिक सञ्जालमा नै छारस्ट देखिएपछि राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले नै कटाक्ष गर्न सुरु गरेका छन् ।

‘तल्लो तहसम्म एकीकरणका सबै काम पूरा भएको भन्दै जिम्मेवारीसहित गाउँगाउँमा प्रशिक्षणमा जाने निर्णय र सैद्धान्तिक विषयमा बहस भएका बेला यस्ता कटाक्ष आउनु ठिक होइन,’ नेकपा एक केन्द्रीय सदस्य भन्छन्, ‘यो विषयलाई युवा नेतृत्वले बुझ्न आवश्यक छ ।’ त्यसो त स्थायी समितिको बैठकमा प्रचण्डले तयार पारेको प्रतिवेदनमा नै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको भूमिकाको बेजोड प्रशंशा गरेका छन् ।

एकीकरण प्रक्रियामा सारथीका रूपमा उभिएको मात्र उल्लेख गरेका छैनन्, सुरु दिनको बैठकमा ओलीको स्वास्थ्य लाभको कामनाको माइन्युट नै पनि तयार पारियो । जसको प्रस्ताव प्रचण्ड आफैंले गरेका थिए । अध्यक्षमा देखिएको मेल एकातिर भए पनि भित्रभित्र ‘पूर्व’ नै हो भन्ने ह्याङओभरमा नेता कार्यकर्ता रहनुले पार्टीलाई हानी हुन सक्ने कतिपयको सुझाव छ । कतिपय कार्यकर्ताले दिपशिखा र पौडेललाई बसेरै सल्लाह लिनु, विचार मन्थन गर्नु उपयुक्त हुने सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार १५:१६