सूचनाको शक्ति - The Power Of Information

        

अस्ट्रेलियामा इतिहासकै सबैभन्दा धेरै गर्मी

अस्ट्रेलिया । अस्ट्रेलियामा मंगलबार इतिहासकै सबैभन्दा धेरै गर्मी मापन गरिएको छ । औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मङ्गलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन् ।

मौसम विभागले मङ्गलवारको तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सिअसभन्दा बढी भएको बताएको छ । देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ ।

यो तथ्याङ्क अस्ट्रेलियाको झाडीमा फैलिएको डढेलोका कारण व्याप्त जनआक्रोश बढिरहेको बेला आएको हो । यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको हो । मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ । थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ ।

मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको थियो । यो साताको सुरुमा वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो जुन डिसेम्बर महिनाका लागि अभूतपूर्व थियो ।

समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक विगत छ दशककै उच्च भएकोले यस्तो भएको मानिएको छ । तर अस्ट्रेलियामा लामो समयदेखि खडेरी चलिरहेको छ । कतिपय स्थानमा वर्षौँदेखिको खडेरीका कारण माटोबाट वाष्प वायुमण्डलमा जान नसकेकोको तापक्रम बढ्न सहयोग पुगेको बताइएको छ । बीबीसी

प्रकाशित मिति : २ पुष २०७६, बुधबार १४:४७