सूचनाको शक्ति - The Power Of Information

        

कोबाल्ट खानीमा बालबालिका प्रयोग, पाँच अमेरिकी कम्पनीविरूद्ध बालश्रम शोषणको मुद्दा

कोबाल्टको भारी बोक्दै ११ वर्षीय ड्यानियल ।

कोबाल्टको भारी बोक्दै ११ वर्षीय ड्यानियल ।

काठमाडौं । अमेरिकाका पाँच प्रमुख प्रविधि कम्पनीविरुद्ध बालश्रम शोषण गरेको मुद्दा परेको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वासिङटनको अदालतमा सोमबार मुद्दा दायर भएको हो ।

टेक कम्पनीविरूद्ध यस प्रकारको मुद्दा परेको यो पहिलो पटक हो । मानव अधिकार संस्थाले यी कम्पनीले अफ्रिकन देश कंगोको कोबाल्ट खानीमा बालबालिकालाई प्रयोग गरेको बताएको छ । त्यहाँ उनीहरूलाई एक डलरभन्दा कम पारिश्रमिकमा काम गराएको संस्थाको दाबी छ । मृत्युसमेत हुन सक्ने जोखिमपूर्ण काममा बालश्रम प्रयोग गरेको जिकिर उसले गरेको छ ।

इन्टरनेसनल राइट्स एडभोकेट्सले १४ पीडितका तर्फबाट मुद्दा दायर गरेको हो । तीमध्ये ६ जना खानीमा काम गर्दागर्दै दुर्घटनामा परेर मृत्यु भएका बालबालिकाको परिवार छन् । बाँकी ८ परिवारका बच्चा दुर्घटनामा गम्भीर घाइते भएका थिए । पीडितमध्ये एकजना यस्ता पनि छन् जो १५ वर्षको उमेरमै खानीको सुरूङमा खसेर प्यारालाइसिसले थलिएका थिए ।

कंगोमा अहिले ३३ प्रतिशत कोबाल्ट कम्पनी कुनै नियमबिना चलिरहेका छन् । विश्वभरि प्रयोग हुने कोबाल्टको दुई तिहाइ कंगोबाट सप्लाई हुन्छ । एक अध्ययनअनुसार उक्त कोबाल्ट खानीमा १० वर्षका बालबालिकाले समेत काम गरिरहेका छन् । कंगोमा भ्रष्टाचार र गरिबी छ । त्यहाँ शिक्षाको अवस्था पनि निकै नाजुक छ ।

बालबालिका स्कुल नगएर खानीमा काम गर्न जाने गरेका छन् । कोबाल्ट मोबाइललगायतका इलेक्ट्रोनिक ब्याट्रीमा प्रयोग गरिने धातु हो । सोही कोबाल्ट प्रयोग गरेर अमेरिकन कम्पनी हरेक वर्ष अर्बौं डलर कमाइरहेकाले उनीहरूविरूद्ध मुद्दा हालेको उक्त संस्थाको दाबी छ । केही समय अघिमात्रै पनि विभिन्न टेक कम्पनीहरुले मेसिनले उत्खनन् गरेको कोबाल्ट मात्रै प्रयोग गर्ने गरेको जनाएका थिए ।

एप्पलले पनि कोबाल्ट सप्लायर्समा निगरानी गरिहेको बताएको थियो । मुद्दा परेपछि डेल कम्पनीले बालश्रमबारे अनुसन्धान गर्ने जनाएको छ । इन्टरनेसनल राइट्स एडभोकेट्सका वकिल टेरेन्स कालिन्गस्वोर्थले पीडित परिवार र बालबालिकासँग आफूले भेटेको भन्दै उनीहरुका पक्षमा फैसला आउने अपेक्षा गरे । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ पुष २०७६, बुधबार १३:०८