बाँके । बाँकेमा शितलहर सुरु भएको छ । एक्कासी तापक्रम घटेपछि चिसो बढेको हो । चिसोले जनजीवन प्रभावित भएको छ । चिसो बढ्दा दैनिक मजदुरी गर्नेहरु ठूलो मारमा पर्छन् । बालक र जेष्ठ नागरिकलाई चिसो बढी असर गर्ने गरेको छ । गत शुक्रबार र शनिबार बर्षा भएपछि हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ भने तराईमा शीतलहर चलिरहेको छ ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु भएपछि अस्थायी बसोबास गर्न तराइतिर झरेका नागरिकहरुको जनजीवन जस्ताको तस्तै रह्यो । हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, बझाङ्ग, बाजुरा लगायतका जिल्लामा केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण चिसो बढेको छ ।
ती जिल्लामा चिसो बढ्दै गएपछि चिसो छल्न बाँके तथा बर्दिया जिल्लामा झरेका हिमाली क्षेत्रका नागरिकहरु यहाँको बाक्लो हुस्सु र शीतलहरका कारण थप प्रभावित भएका छन् । बाक्लो हुस्सु र शितलहरबाट प्रभावित यहाँका नागरिकहरु जस्तै उनीहरु पनि निकै प्रभावित भएका छन् । शीतलहरका कारण बिरामी पर्न थालेको उनीहरुले बताएका छन् ।
उनीहरुलाई बेसी झर्दा पनि चिसो नघटेपछि अचम्म लागेको छ । ‘हिमपातका कारण यहाँ आइयो, अवस्था भने जस्ताको तस्तै रह्यो,’ डोल्पाबाट जाडो छल्न बाँके झरेका वीरबहादुर रोकायले भने, ‘यहाँको हुस्सु र शीतलहरले त हैरानै पा¥यो नी ?’ कर्णाली तथा सुदूरपश्चिम प्रदेशका यी जिल्लाका नागरिकहरु चिसोका कारण आफ्नो घर छोडेर बेसी झर्नुपर्ने बाध्यता रहेको छ ।
मङ्सिर अन्तिम सातादेखि हिमाली जिल्लामा चिसो बढ्न थालेपछि खासगरी सुर्खेत हँुदै नेपालगन्ज र कोही कामको खोजीमा भारततिर जानेको सङ्ख्यामा यतिखेर धेरै वृद्वि भएको छ । जाडो छल्न तराई झरेका जुम्लाका मानसिंह बुढथापाले जुम्लाबाट मात्रै अधिकांश नागरिकहरु बेसीतिर झरेको बताए । हिमाली जिल्लाबाट झरेपछि सुर्खेत र नेपालगन्ज बस्ने तथा धेरैजसो नागरिकहरु पैसा कमाउन भारत जाने गरेको उनले बताए ।
फागुन महिनासम्मका लागि अस्थायी बसोबास गर्न आ–आफ्नो घर छोडे पनि चैत लागेपछि पुनः फर्कने बुढथापाको भनाइ छ । चिसो छल्न बाँके, बर्दिया लगायत तराईका जिल्लामा दुई दिनदेखि मौसममा एक्कासी फेरबदल आएपछि हिमाली जिल्लाबाट झरेका नागरिकहरुको मात्र नभई तराईबासीको जनजीवन प्रभावित भएको छ । बाँके लगायत कर्णाली तथा सुदूरपश्चिमका तराईका जिल्लामा दुई दिनदेखि शीतलहर चन्ल थालेपछि जनजीवन प्रभावित भएको छ ।
शीतलहर सुरु भएपछि चिसो पनि ह्वात्तै बढेकाले सरकारी तथा गैरसरकारी निकायमा सेवाग्राहीको उपस्थिति समेत एकाएक पातलिएको छ । बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण बढेको जाडोले विद्यालयका छात्रछात्रा, दैनिक मजदुरी गर्ने मजदुर र वृद्धवृद्धाहरुलाई बढी असर पु¥याएको छ । शीतलहरको असर सबैभन्दा बढी यस क्षेत्रका स्कुले विद्यार्थीमा परेको छ । हुस्सु र शीतलहरले गर्दा मानिसहरू आ–आफ्नो घरबाट निस्कन सकेका छैनन् ।
चिसो बढेपछि तराईका बजार क्षेत्रमा मानिसको चहलपहल घटेको छ भने ज्याला मजदुरी गरेर गुजारा चलाउनेलाई काम गर्न गाह्रो भएको छ । स्थानीय हाटबजारमा न्यानो कपडाको खरिद–बिक्रीमा भने वृद्धि भएको छ । यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् । बाटोमा गुड्ने स–साना सवारीसाधनहरू बत्ती बालेर चलाउनुपर्ने अवस्था छ ।
सीमा नाकामा आगो ताप्ने व्यवस्था
चिसोबाट जोगीन स्थानीय बासिन्दा घरआँगनमा आगो तापिरहेका देखिन्छन् । नेपालगन्ज जमुनाहा नाकामा भारत जाने र फर्किनेका लागि प्रहरीले आगो ताप्ने व्यवस्था गरेको छ । दैनिक ठूलो चहलपहल हुने यो नाकामा प्रहरीले गरेको आगो ताप्ने व्यवस्थाले यात्रुहरुले केहीबेर भए पनि तातो हुने मौका पाएका छन् । नेपालगन्ज नाकाबाट यतिबेला मजदुरीका लागि भारत जाने पहाडी जिल्लाका बासिन्दाको लाम नै लागेको छ ।
हिउँदे खेतीपाती सकेर पहाडी जिल्लाका मानिसहरु मजदूरीका लागि भारततिर लागेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार यतिबेला दैनिक करिब सात सय नेपाली भारततिर कामका लागि गइरहेका छन् । दशगजाको छेउमै आगो ताप्ने व्यवस्था मिलाइएको जमुनाहाका इन्चार्ज माधव रिजालले बताए । हावापानी कार्यालयका कर्मचारी पलबहादुर विकका अनुसार, मंगलबार जिल्लाको तापक्रम न्यूनतम १२.२ डिग्री र अधिकतम १४.४ डिग्री रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको फरक थोरै भएकाले चिसो बढी भएको विकले बताए ।
सत्यपाटी ।