सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी जवानको हतियार लिएर प्रेमी फरार

धनुषा । जनकपुर उच्च अदालतका न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी प्रहरी जवानको हतियार हराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी जवान रनिताकुमारी केवटले बोकेको ७ राउन्ड गोली लोड भएको पेस्तोल हराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दरबन्दी भई केवट न्यायाधीश घिमिरेको अङ्गरक्षकको रूपमा कार्यरत थिए । प्रहरी स्रोतका अनुसार प्रहरी जवान केवट र उनका प्रेमी सिवेन्द्र यादवबीच विवाद भएपछि यादव उनको हतियार खोसेर फरार भएको हो । नवलपरासी देउडा घर भएका यादव र प्रहरी जवान केवट गत केही दिनदेखि सँगै जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा लिएर बस्दै आएका थिए ।

उनीहरुबीच सोमबार विवाद भएपछि यादव पेस्तोल लिएर फरार भएको एक प्रहरीले बताए । तर, प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रेमीले पेस्तोल खोसेर फरार भएको वा हराएको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । ‘कानुनबमोजिम लिएको हतियार हराएको भन्ने सूचना आज हामीलाई प्राप्त भएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले भने, ‘हराएको हो वा कसैले लिएर भागेको हो त्यो अनुसन्धानको विषय हो ।’

प्रकाशित मिति : १ पुष २०७६, मंगलवार १७:००