धनगढी । आफ्नो चुनावी क्षेत्र कैलाली क्षेत्र नम्बर १ मा खुलेर उपस्थितसमेत नभएका रेशम चौधरीको जित धेरैका लागि अप्रत्यासित बन्यो । आफ्नो फरार सूचीमा रहेका चौधरीको जित नेपाल प्रहरीका लागि चित खुवाउने बन्यो ।
प्रतिनिधि सभाको उम्मेदवार दर्तादेखि जितसम्म उनी आफ्नो ‘रोहरवर’मै चले । चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन् । भिडियो च्याट र फोनबाट नै कार्यकर्ता परिचालन गरे । अभौतिकरुपमा चुनावी मैदानमा उत्रेका उनी प्रतिनिधि सभा निर्वाचनमा २० हजार मतान्तर विजयी भए ।
सोमवार सम्पन्न मत गणनामा चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट ३४ हजार ३४१ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाहले १३ हजार ४०६ मत मात्र प्राप्त गरिन् । मंगलवार विहान कैलालीमा उनको अनुपस्थितिमै विजय जुलससमेत निस्कियो । कसैले पनि चौधरीलाई देखेनन् ।
विजेता चौधरी जितको प्रमाणपत्र लिन आउलान् र समातौला भन्दै प्रहरीले सुरक्षा तैनाथी बढायो । प्रहरी प्रधान कार्यालय नक्सालले पनि चौधरीलाई कहीँकतै देखे पक्राउ गर्ने निर्देशन दिइसकेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले निर्वाचित चौधरी फरार अभियुक्त भएकाले पक्राउ गर्ने तयारी भएको स्वीकार गरे ।
२०७२ साल भदैमा कैलालीको टीकापुरमा भएको आन्दोलनमा अञ्चल प्रहरी प्रमुखसहित सात प्रहरी र एक बालकको मारिए । घटनामा चौधरीलाई मुख्य योजनाकार रहेको प्रहरीले बताएपछि उनी फरार रहँदै आएका छन् । घटनामा संलग्न केही अझै पनि जेलमा छन् ।
।