सूचनाको शक्ति - The Power Of Information

        

तेह्र लाख रकमसहित बाबुछोरा प्रहरी फन्दामा

बाँके । सुन कारोबार गर्दै आएका बाबु छोरालाई प्रहरीले नेपालगन्ज–२, घरवारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु.१३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताए । प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताए ।

उनले भने, ‘शंका लागेपछि आज प्रहरी पिछा गरेका थियौ । सोही क्रममा रु.१३ लाख नगद रकमसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेका छौं ।’ प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताए ।

यसअघि पनि नेपालगन्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उनले जानकारी दिए । नेपाल र भारत सिमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार १५:३५