सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थल ‘स्तरोन्नतिको गुरुयोजना’ अलपत्र, पप्पुलाई ‘कारबाही’ सिफारिस

बाँके । सरकारले स्तरोन्नतिका लागि नेपालगन्ज विमानस्थलको गुरुयोजना बनाएको वषौं वितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुन सकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरण स्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ ।

जंगल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकोले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्सनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ । विमानस्थल घाँसे मैदानमा समेत परिणत भएको छ ।

बँदेल आतंकले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन् । उनकाअनुसार गत मंगलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बदेलको बच्चाले भने ज्यान गुमाएको थियो ।

धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्स स्टेसन म्यानेजर विनित शाह बताउँछन् । उनले भने, ‘विमानस्थलमा धेरै घाँसे मैदान छ । बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ । जसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ ।’

पम्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छोडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ । ‘ठेकेदारकै ढिलासुस्तीले काम समयमा भइरहेको छैन,’ प्राधिकरण प्रमुख ठाकुरले भने ।

एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राविधकरण नेपालगन्जका प्रमुख ठाकुरले बताए । धावन मार्ग पिच गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्सनले रु.१३ करोडमा लिएको प्राधिकरण प्रमुख ठाकुरले बताए ।

ठेक्कामध्येको रु.११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । तर, काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिस गरेको उनको भनाई छ । ‘तर, अहिले पनि ठेकेदारमाथि नत कारवाही भएको छ । नत विमानस्थलमा काम नै भएको छ,’ उनले भने, ‘कसलाई भन्नु म त हैरान भइसके ।’

वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । ‘सुरक्षाका लागि प्रयाप्त छैन । रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ,’ प्राधिकरण प्रमुख ठाकुरले भने, ‘ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाई गरेन ।’ यसले उडान र अवतरण संवेदनशील बन्दै गएको उनी बताउँछन् ।

पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन् । तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पुलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बताए । उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ ।

विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु.१२ अर्ब लगानी भइरहेको उनले बताए । गुरुयोजनाअनुसार विमानस्थललाई पूर्ण बनाउँन अझै १२६ बिघा जमिन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् । अहिले ६ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुई वटामात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ ।

प्रमूख ठाकुरले भने, ‘अब ६ जहाज थप गरी पार्किङ वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ ।’ दुई सय मिटरको रनवे रहेको नेपालगन्ज विमानस्थलमा गुरुयोजना अनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको प्रमुख ठाकुरले बताए ।

विमानस्थलको पार्किङ एरियामा मात्र रु.२८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवा खोला नै अर्कोतर्फ मोडनुपर्ने अवस्था आउने प्राधिकरण प्रमूख ठाकुरले बताए । ‘यसका लागि स्थानीयसँग छलफल गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘पहिला विमानस्थलको भित्री भाग निर्माण पूरा गर्ने प्रयासमा छौं ।’

उनले केही जमिनसमेत अतिक्रमण गर्नुपर्ने बताए । रनवेको उत्तरतर्फ खेतीयोग्य जमिन छ । जमिनको क्षेत्रफल बढाउन आवश्यक भए पनि हालसम्म कति जमिन कसरी लिने भनी स्थानीयसँग छलफल प्रक्रियासमेत अगाडि बढेको छैन । ठाउँ अभावकै कारण ठूला जहाज ल्यान्ड गर्न स्थान पुग्दैन । यसका लागि जमिनको क्षेत्रफल बढाउनु जरुरी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०८:०४