सूचनाको शक्ति - The Power Of Information

        

मिनी पानीजहाज चलाउन ‘सभामुख’ बाधक

काठमाडौं । नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनको अन्तिम तयारी हुँदैछ । पर्यटकलाई केन्द्रित गरेर सञ्चालन गर्न लागिएको मिनी पानी जहाज भ्रमण वर्षको सुरुवातमै सञ्चालन गर्ने गरी तयारी गरिएको थियो ।

नेपाल भ्रमण वर्षको सुरुसँगै राष्ट्रपति वा प्रधानमन्त्रीलाई उपस्थिति गराएर पानी जहाज सञ्चालन गर्ने गरी तयारी गरिएको सञ्चालक राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । तर, नेपालको पहिलो पानी जहाज सञ्चालन गर्ने तयारी भैरहेपनि अहिले प्रतिनिधिसभामा सभामुख नरहेका कारण अफ्ठ्यारो परेको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले अहिले सबै तयारी पुरा गरे पनि पानी जहाज उद्योग भने दर्ता गर्न पाएको छैन । पानी जहाज उद्योग सम्बन्धी ऐनको निर्माण भैसकेको तर सभामुखले प्रमाणिकरण गर्न बाँकी छ । प्रतिनिधिसभामा उपसभामुख त छन्, तर विधेयक प्रमाणीकरण गर्न सभामुख नै चाहिने व्यवस्था छ । पानीजहाज सम्बन्धी सेवामुलक उद्योगसमेत दर्ता गर्न पाउने व्यवस्था औद्योगीक व्यवसायी विधेयक २०७५ मा उल्लेख छ ।

सो विधेयक राष्ट्रियसभा तथा प्रतिनिधिसभाबाट भदौमा नै पास भैसकेको छ । तर, सभामुखबाट प्रमाणिकरण हुन बाँकी छ । कम्पनीले उद्योग दर्ताको लागि उद्योग विभागमा प्रक्रिया अपनाएको छ । तर, पानी जहाजसम्बन्धी ऐन नहुँदा विभागले उद्योग दर्ता गरेको छैन । विभागका उद्योग दर्ता शाखाका प्रमुख प्रेम लुँईलेटले नेपालखबरसँग कुरा गर्दै राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नारायणी नदीमा मिनी पानीजहाज सञ्चालन गर्नको लागि आवेदन दिएको तर ऐन प्रमाणिकरण भएर राजपत्रमा प्रकाशित नहुँदा दर्ता गर्न नसकिएको बताए ।

उनले भने ‘यस प्रकारको सेवा नेपालमा नै पहिलो पटक हुँदैछ । त्यसमा देखिने समस्याहरु पनि हुन सक्छन् । उद्योग दर्ता नगराई सञ्चालन गराएको खण्डमा त्यसबाट हुने क्षति कसले हेर्ने, उद्योग नै दर्ता नभएपछि त्यसमा सरकारको जिम्मेवारी कसरी हुने जस्ता कारणले उद्योगीले उद्योग दर्ता गराउनै पर्ने हुन्छ । तर त्यसको लागि अहिले ऐन नआएकोले समस्या परिरहेको छ ।’ तर उक्त कम्पनीले कम्पनी रजिस्टारको कार्यालयमा भने कम्पनी दर्ता गराएको छ ।

त्यस्तै वातावरण विभागबाट पनि वातावरण प्रभाव मुल्याङ्कन पनि गराएको कम्पनीका सञ्चालक खिम पन्थी बताउँछन् । ‘हामीले उद्योग दर्ता गराउन प्रक्रिया अपनाएको तर दर्ता भने नभएको साँचो हो । हाम्रो कारणले भन्दा पनि नीति निर्माताको तर्फबाट त्यो काम पछि परिरहेको छ । त्यस विषयमा पर्यटन मन्त्रालय लगायत अन्य निकायहरुसँग पनि कुरा भैरहेको छ ।’ उनले भने, ‘सकेसम्म हामी भ्रमण वर्षको सुरुमै राष्ट्रपति वा प्रधानमन्त्री र पर्यटन मन्त्रीलाई उपस्थित गराएर यसको सुरुवात गर्ने योजना बनाइरहेको छौं ।’

कस्तो छ मिनी पानीजहाज ?

१०० फिट लम्बाइ र २५ फिट चौडाइको पानीजहाजमा दुईवटा इञ्जिन जडान भएको छ । जहाजभित्र चेन्जिङ रुम, पानी ट्ंयाकीलगायत राख्ने काम भइरहेको पन्थीले बताए । उनका अनुसार, जहाजको पहिलो तलामा ९० र दोस्रो तलामा सयजना यात्रु सिट क्षमता रहेको छ । पहिलो तल्लामा मनोरञ्जन लिने, सुटिङ गर्ने खुला ठाउँ छ । पर्यटकहरुले यो जहाजमा बसेर प्रतिघण्टा ३७ किलोमिटरको वेगमा काभ्रेघाट–देवघाट र देवघाट–गोलाघाट जलयात्रा गर्न सक्ने छन् ।

विहान यात्रा गर्नेले ब्रेकफास्ट लिन पाउने व्यवस्था गरिनेछ । त्यस्तै, दिउँसो यात्रा गर्नेले लन्च खान पाउने छन् भने बेलुकाको समयमा डिनरको व्यवस्था गरिनेछ । यात्रा ३ घण्टाको हुने पन्धी बताउँछन् । यसमा करिव १५ करोड हाहाहारीमा लगानी समेत भैसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १९:५२