बाँके । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा तीन दिने बालकसहित दुई जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा तीन दिने शिशु र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षिय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घटनास्थलमै मृत्यु भएको थियो भने एम्बुलेन्स चालकको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परेर दङ्गिशरण नगरपालिका–५ दाङका ३६ वर्षिय तिलकराम खड्का र उनकी पत्नी २४ वर्षिया मालती खड्का घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक हस्तबहादुर सुनारले जानकारी दिए । प्रहरी निरिक्षक सुनारका अनुसार घाइते तिलकरामको अवस्था गम्भीर रहेको छ ।
घाइते दुवैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भइरहेको छ । उनीहरु सबैको मृतक शिशुको शव मेडिकल कलेज कोहलपुरमा रहेको छ । एम्बुलेन्स, ट्रक र ट्रक चालक धादिङ्ग नौविसेका ३४ बर्षिय राजकुमार मिजारलाई नियन्त्रणमा लिएर अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी ।