फाइल तस्वीर
बाँके । सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगन्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तीनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेको छैन ।
सामान्य अर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुने गर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाई छ । यही बुझाईका कारण पछिल्लो समय नेपालगन्जमा भएका सडक दुर्घटना नियमित र भवितब्यझैं बन्न पुगेको देखिन्छ । पछिल्लो समय नेपालगन्ज–कोहलपुर सडकखण्डमा दुर्घटनाको उच्च जोखिम बढ्दै गएको छ ।
विशेषगरि नेपालगन्ज–कोहलपुर सडकखण्डमा कुद्ने सवारीसाधनको निशानामा पैदलयात्रु हुनेगरेका छन् । केही महिना अघिमात्र मोटरसाइकलको ठक्करबाट नर्सिङ्गहोम अगाडी पैदलयात्रु एक महिलाको मृत्यु भयो । हप्तादिन अघिमात्र काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस बाँकेको गनापुरमा पल्टियो १२ जना घाइते भए ।
बाटो काट्दा मात्रै होइन, सडकको छेउबाट हिँड्दासमेत सवारीको ठक्करले पैदल यात्रुले ज्यान गुमाएका छन् । नेपालगन्ज विरेन्द्र चोक गुल्म नजिक भेरी पेट्रोल पम्प सामुन्ने बुधबार दिउँसो मिनी ट्रकले कुचल्दा नेपालगन्ज वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी बलबहादुर रावल र जुम्ला चन्दनाथ नगरपालिका बस्ने नरजीत बुढाको मृत्यु भयो ।
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते दुवैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । यी त केही उदाहरण मात्र हुन् । सडकमा सबैभन्दा पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्ने मान्यता छ । तर, नेपालगन्जका सडकहरू पैदलयात्रुकै लागि सबैभन्दा असुरक्षित बनिरहेका छन् । सवारीसाधनको लापरबाही र पेलानले गर्दा अनाहकमा ज्यान गइरहेको छ ।
नेपालगन्जमा अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन् । सडकभरि अव्यवस्थित तरिकाले गुडिरहेका सवारी साधनको अत्यासलाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने सवारी साधनबाट यात्रा गरिरहेका यात्रुमात्र नभई सडकमा हिँडिरहेका निर्दोष पैदल यात्रुसमेत मृत्युको मुखमा पर्ने गरेका छन् । साँघुरो सडकका कारण सास्ती भोगेका नेपालगन्जका यात्रुहरुले चारलेन सडक बनेपछि यात्रा सहज हुने विश्वास गरेका थिए ।
तर, सडक चौडा भए पनि ट्राफिक प्रहरीको जाँगर नचेलका कारण यतिवेला दुर्घटनाको जोखिम बढेर आएको छ । दिनहुँजसो गुड्ने सवारीसाधनले सडकमा पैदलयात्रा गरिरहेका यात्रुलाई आफ्नो सिकार बनाइरहदाँसम्म पनि सम्बन्धित निकायको यसतर्फ ध्यायन जान सकेको छैन । बजारक्षेत्रमै तिव्रगतिमा गुड्ने सवारीसाधनले पैदल यात्री र अन्य सवारी चालकको सातोपुत्लो समेत लिने गरेको छ ।
सडक बीचभागमा छाडा चौपाया आवतजावत गर्ने, बीच सडकमै बस्ने, सडकपेटी मिचेर खोलिएका पसल, सडकभरी अव्यवस्थित पार्किङ्ग, मनपरि सडक काट्ने र सवारी साधन रोक्ने जस्ता कारणले दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । उपमहानगरपालिका ट्राफिक व्यवस्थापनमा ट्राफिकले कन्जुस्याई गरेपछि यतिबेला नगरका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हुनुका साथै हिँडडुल गर्न समेत अप्ठेरो बन्न पुगेको छ ।
नेपालगन्जमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । अझ भनौ ट्राफिकको उपस्थिती नै छैन । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय उदासिन बन्दा सर्वसाधारणको मृत्यु भइरहेको छ । सडक पेटी ओगेटर राखिएका फुटपाथ पसल, ठेला र मनपरि ठाँउमा पार्किङ्ग गरिएका सवारी साधनले उपमहानगरको स्वरुप नै कुरुप बनाएको छ । विभिन्न चोक–चोक र सडकको बीचभागमै ई–रिक्सा, अटो र ठेलाको आतंक नै छ ।
विहान र साँझ मात्रै ट्राफिक व्यवस्थापनमा सक्रिय रहने ट्राफिकको बेप्रवाह गर्दै सवारी चालक, फुटपाथ पसलेले आफ्ना दबदबा कायम गरिरहेका छन् । अर्कोतर्फ नेपाल प्रहरी र उपमहानगरको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरी पनि वास्ता नै छैन । सडक सुरक्षाका दृष्टिकोणले ट्राफिक चिन्हरु आवश्यक पर्छन् । उपमहानगरपालिकाभित्रै सडकमा अन्य ट्राफिक चिन्हरुको कुरा त परकै कुरा हो, जेव्रा क्रसिङ्गसमेत छैन, भएका पनि मेटिसकेका छन् ।
सडक निर्माणसँगै बनाइनुपर्ने यस्ता चिन्हहरु नबनाउँदा यसले झन् दोधारमा पारेको सवारी चालकहरु बताउँछन् । जिल्ला ट्राफिक कार्यालय बाँकेले सार्वजनिक गरेको एक तथ्यांक अनुसार जिल्लामा भएका सानाठूला सडक दुर्घटनामा परेर यसअघि ६० जनाले अनाहकमा ज्यान गुमाए । आर्थिक वर्ष २०७५/०७६ को एक तथ्यांक अनुसार बाँकेमा सवारी दुर्घटनामा परि ४२ जना पुरुष, १४ जना महिला, ४ जना बालक गरी जम्मा ६० जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेको संख्यासँगै घाइते हुनेहरुको संख्या पनि बढेको छ । गत आवमा भएका दुर्घटनामध्ये ९९ वटा ठूला दुर्घटनामा परि ४५ जना पुरुष, २३ जना महिला, ७ जना बालक र १ जना बालिका गरी ७५ जना गम्भीर घाइते भए । यस्तै ५४ जना पुरुष, २९ जना महिला र ३ बालिका गरि ८६ जना सामान्य घाइते भएको २ वटा पशुचौपायाको मृत्यु हुनुका साथै १ वटा घाइते भएकोसमेत ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार बाँकेमा प्रत्येक हप्ता सरदर २ वटा सवारी दुर्घटनामा पर्ने गरेका छन् भने प्रत्येक हप्ता कम्तीमा एक जनाको मृत्यु अनि ३ जना गम्भीर घाइते हुने गरेका छन् । यी सवै दुर्घटनाका प्रमुख कारण भने चालकको लापरवाही, तीब्र गति, अव्यवस्थित पार्किङ्गलाई नै औंल्याइएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार गत आवमा ९९ ठूला दुर्घटनामध्ये सबैभन्दा धेरै तीब्र गति र लाहपर्बाहीका कारण ७८ वटा भएका छन् ।
त्यस्ते ओभरटेक गर्दा ७ वटा, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा ५ वटा, खराब सडकका कारण ४ वटा, छाडा चौपायाका कारण ३ वटा र यान्त्रिक कारणले २ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरिक्षक पविन्द्र बमका अनुसार पैदल यात्रुले असुरक्षितरुपमा जहाँबाट पायो त्यहीँबाट बाटो काट्दा दुर्घटनाको जोखिम धेरै भएको बताए ।
उनले भने, ‘पैदल यात्रुले जेब्राक्रमबाट मात्रै बाटो काट्ने हो भने दुर्घटनाको जोखिक निकै कम हुन्छ । त्यसो हुँदा सवारी चालकलाई सवारीको गति कम गर्न पनि सहज र हुन्छ । जेब्रा क्रममा सवारीको गति अन्य क्षेत्रको भन्दा कम र सन्तुलित हुन्छ ।’ चालकहरुले किन ट्राफिक नियम पालना नगर्नु अर्को चुनौतिका रुपमा रहेको उनले बताए । ‘हामीले कडाइका साथ ट्राफिक नियम पालन गर्न लगाएकै छौं,’ उनले भने, ‘हामीसँग जनशक्ति कम हुँदा केही समस्या छ ।’
सत्यपाटी ।