बाँके । सुर्खेत घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुर बस्दै आएका सतेन्द्र विसीको हत्या नै भएको परिवारले दावी गरेको छ । नेपालगन्ज खजुरा सडकखण्ड अन्तरगत जानकी गाउँपालिका ३ को सडक छेउमा विसीको शव कार्तिक २० गते विहान भेटिएको थियो ।
बाँके प्रहरीले सवारी साधनको ठक्करबाट विसीको ज्यान गएकोे बताए पनि घटना रहस्यमय भएको परिवारको दावी छ । घटनाको करिव एक महिनापछि विसीकी पत्नि जानकीले मंगलवार नेपालगन्जका सञ्चारकर्मीसँग कुरा गर्दै घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको दुखेसो पोखिन ।
मृत्यु हुनुभन्दा अघिल्लो दिनसम्म परिवारकै सम्पर्कमा रहेको व्यक्ति भोलीपल्ट त्यस्तो अवस्थामा भेटिनु रहस्यमय भएको जानकीको भनाइ छ । जग्गाको कारोवार गर्ने विसी १९ गते सुर्खेत जान्छु भनेर घरबाट हिडेको जानकीले बताइन । प्रहरीले पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखाएको जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले घटनालाई आफुहरुले गम्भीरताका साथ लिएको भन्दै अनुसन्धान भइरहेको बताए । परिवारजनले भने प्रहरीको अनुसन्धान प्रभावकारी नभएको गुनासो गरेका छन् । घटना भएको महिना दिन वित्नै लाग्दा समेत प्रहरीले कुनै चासो नदिएको विसीकी पत्नी जानकीले बताइन् ।
।