सामान्य परिवारमा हुर्किए, सामान्य जीवनशैली बिताए । हुम्लाको सर्केगाड गाउँपालिका–१ (साविक जरै गाविस–१) मा २०३४ सालमा जन्मिएका कृष्ण कार्कीको जीवनमा कहिले पनि तडकभडक र भड्किलो बन्ने समयले प्रवेश पाएन । निम्न पारिवारिक अवस्थाले पनि उनको जीवन सामान्य नै रह्यो । दुर्गम कर्णालीको हुम्लामा जन्मिए, प्रारम्भीक शिक्षा हासिल गर्नै समस्या हुन्थ्यो, त्यो बेला । घरको आर्थिक अवस्था कमजोर नै रहे पनि उनको पढाईमा परिवारको साथ प्रारम्भीक तहदेखि नै थियो ।
सानैमा पनि कृष्ण गाउँको चलाख बच्चाभित्र गनिन्थे । आफ्नो उमेर समुहमा अरुभन्दा फरक र चलाख थिए, कृष्ण । बुवा जनक र डाफु कार्कीको दैनिकी कृषि पेशामै बित्थ्यो । भेडा र बाख्रा पालन मुख्य आम्दानीको स्रोत थियो । अन्य कृषिजन्य उत्पादनले मुस्किलले दुई÷चार महिना खान पुग्थ्यो । परिवार पाल्नकै लागि कृष्णका बुवा जनक र डाफुलाई अन्य स्रोतको खोजी नरेर सम्भव नै थिए । भेडा र बाख्रापालन परिवार पाल्ने महत्वपूर्ण पेशा नै थियो । यही अवस्थामा हुर्किएका कृष्णले निमाविसम्मको अध्ययन गाउँकै सरस्वति स्कुलमा गरे ।
कक्षा ८ पछि उनलाई फलामे ढोकालाई छिचोल्न निकै चुनौति थियो । माध्यमिक शिक्षा पुरा गर्नका लागि चार घण्टाको पैदल यात्रा त्यो पनि ज.गलको बाटो हुँदै गर्नुपर्दथ्यो । जंगलको बाटो हिँड्दा जंगली जनावरहरुले आक्रमण गर्ने डर पनि उत्तिकै हुन्थ्यो । तर कृष्णको पढाईप्रतिको लगाव र लगनशीलताले उनलाई न लामो दुरीको पैदल यात्राले रोक्यो, न त जंगलले नै रोक्यो । उनले दुई बर्षसम्म जंगलभित्रको बाटोमा एकतर्फीरुपमा चार घण्टा पैदल यात्रा गरेरै विद्यालय पुग्थे ।
हिमज्योति माध्यमिक विद्यालयबाट २०५१ सालमा दोस्रो श्रेणीमा फलामे ढोका मानिने एसएलसी उत्तीर्ण भएपछि उनलाई उच्च शिक्षा अध्ययनका लागि कठीन र संघर्षपूर्ण चुनौति आइलाग्यो । उनलाई जसरी पनि उच्च शिक्षा हाँसिल गर्नैपर्ने थियो । तर उच्च शिक्षा अध्ययनका लागि जिल्लामै क्याम्पस तहको पढाई हुदैनथ्यो । परिवारको आयस्तर निकै न्यून भएका कारण उनलाई पढाई छाड्नुपर्ने या उच्च शिक्षा अध्ययनका लागि चुनौति व्यहोर्ने दुई वटा विकल्प मात्रै थिए ।
स्वभावैले हक्की, निडर र आँटिला कृष्णले उच्च शिक्षा अध्ययन गरेरे छाड्ने र त्यसका लागि आउने चुनौतिको सामना गर्न तयार भए । उनले एसएलसी पास गरेको समयमा हुम्लामा तत्कालिन एमालेका सांसद प्रेमबहादुर सिंह थिए । उनै सांसद सिंहसँग उनको परिवारको राम्रै सम्बन्ध थियो । त्यही सम्बन्धका कारण उनी उच्च शिक्षा हाँसिल गर्नकै लागि काठमाडौं हान्निए । दुई बर्ष उनै सांसदको भान्से भएर बसेका कृष्ण २०५४ सालमा महेन्द्र रत्न क्याम्पसमा एमाले निकट अनेरास्ववियुका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए ।
विद्यालय तहमै अनेरास्ववियुुमा आवद्ध भएका कृष्ण स्ववियु सदस्य भएपछि काठमाडौं बसाई उपलब्धीपूर्ण हुँदै गयो । राजनीतिरुपमा उनले आफूलाई अझै निखार्दै गए । चुनौतिकै बाबजुत महेन्द्र रत्न क्याम्पसमा स्नातकसम्मको अध्ययन पुरा गरेका कृष्णले अध्ययनरत हुँदै गर्दा सामुदायिक विकास सम्बन्धी १५ महिने तालिम पनि लिए । १५ महिने तालिम पुरा भएपछि उनलाई प्रशिक्षार्थीका रुपमा अछामको विनायकमा खटाइयो । लिंक हेल्भेटासद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रममा उनले सफल प्रशिक्षार्थीको भूमिका निभाए ।
त्यसबेला नेपालमा सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । हुम्लामा ‘एक घर एक पिएलए’ नारा दिएर तत्कालिन नेकपा माओवादीले गाउँका युवाहरुलाई जनसेनामा आवद्ध गराइरहेको थियो । उनी तत्कालिन एमाले भएकै कारण गाउँ नगएर अछाममा सामुदायिक विकास कार्यक्रममा प्रतिक्षार्थीका रुपमा गर्नुपर्ने काम सकेर उनी नेपालगन्ज झरें । २०५४ सालमा पार्टीको संगठीत सदस्यता लिएका उनी नेपालगन्ज झरेपछि उनी पार्टी सम्पर्कमा पुगे । बाँकेमै पार्टीका काममा सक्रिए भए ।
पार्टीका काम सँगसँगै उनलाई सामाजिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने इच्छा जाग्यो । उनले सामाजिक विकासका लागि सहयोगी संस्था नेपाल नामक संस्था स्थापना गरेर सामाजिक विकासका काममा सक्रियता बढाउन थाले । १० बर्षसम्म पार्टीको राजनीतिसँगै सामाजिक विकासका कामहरुलाई गाउँगाउँमा पु¥याए । त्यही बीचमा तत्कालिन जिल्ला विकास समितिद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम अन्तरगत चार बर्ष नेपालगन्ज–२० (साविकको मनिकापुर गाविस)मा सामाजिक परिचालक भएर काम गरे ।
सामाजिक कामसँगै उनले दुई कार्यकाल साविकको मनिकापुरमा एमालेको गाउँ कमिटीको अध्यक्ष भएर दुई बर्ष काम गरे । युवा संघमा एक कार्यकाल सदस्य भएर काम गरे भने पार्टीको क्षेत्रीय कमिटी सदस्य भएर पनि उनले काम गरे । पार्टी कामसँगै सामाजिक विकासका काममा निरन्तर क्रियाशिल कृष्णलाई २०७४ को स्थानीय तहको निर्वाचनमा नेपालगन्ज–२० को वडाध्यक्षका रुपमा पार्टीले अघि सार्यो । उनले ९८८ मत ल्याएर वडाध्यक्षमा विजयी भएसँगै उनको कामको दायरा र जिम्मेवारी अझ फराकिलो र चुनौतिपूर्ण बन्यो ।
सांगठनीकरुपमा कमजोर रहेको मनिकापुरमा पार्टीको संगठनलाई मजबुत बनाउने श्रेय कृष्णलाई जान्छ । पार्टी काममा निरन्तर क्रियाशिल कृष्णलाई स्थानीय तहको निर्वाचनमा पार्टीले पनि पत्यायो, उनले पनि पार्टीले गरेको विश्वासलाई सफलतामा बदल्न सके । वडाध्यक्षमा विजयी भएसँगै थपिएको जिम्मेवारी र आइपनेृ चुनौतिलाई उनले सहजरुपमा सामना गरिरहेका छन् । पारिवारिक जिम्मेवारीलाई गौण ठान्दै कृष्णले सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिएर अघि बढिरहेका छन् । उनले आफूलाई कर्मशील वडाध्यक्षको छवी बनाएका कष्णका लागि ‘समाजसेवा चुनौतिसँगै अवसर’का रुपमा आएको छ ।
वडाध्यक्षमा विजयी भएसँगै उनको एउटै ध्यये छ, अन्य वडाको तुलनामा नेपालगन्ज उपमहानगरको २० नम्बर वडालाई अब्बल र विकसित वडाका रुपमा विकास गरेर पहिलो नम्बरमा स्थापित गर्नु । मेहेनती, लगनशील, र कर्मशील कृष्णसँग स्थानीय सरकारको विकासको गति र सम्भावनाका पाटाहरुलाई राम्रोसँग बुझेका कृष्णले २० नम्बर वडालाई आफ्नै कार्यकालमा बदल्नु छ । यही सपना र सोंचलाई सत्यतामा बदल्न उनी हरेक दिन वडाबासीकै काममा खटिइरहेका हुन्छन् । उनी भन्छन्, ‘मेरो घर परिवार भनेकै वडाबासी हुन् । वडाको विकासमा मैले अझ धेरै गर्नुछ ।’
त्यसो त उपमहानगरपालिकामा रहेका २३ वटा वडामध्ये विकासका कामहरुमा सबैभन्दा अब्बल वडाका रुपमा २० नम्बर वडा नै पर्छ । गत आर्थिक बर्षको बजेट खर्च प्रतिशतलाई हेर्ने हो भने आर्थिक वर्ष २०७४÷२०७५ मा रु.एक करोड ३८ लाख ४९ हजार अर्थात् ८७ प्रतिशत आर्थिक वर्ष २०७५÷२०७६ मा रु.एक करोड ४९ लाख अर्थात् ९६ प्रतिशत रकम विकासमा खर्च गरेको छ । यो रकम अन्य २२ वटा वडाको तुलनामा सबैभन्दा धेरै हो । यसबर्ष पनि २० नम्बर वडाले रु.एक करोड ७५ लाख ८७ हजार बजेट विनियोजन गरेको छ । यसबर्ष पनि सतप्रतिशत रकम विकासमा खर्च गर्ने वडा कार्यालयको लक्ष्य छ ।
यस बर्ष वडाबाट भौतिक पूर्वाधार निर्माण तथा विकासतर्फ रु.एक करोड ६७ लाख ८७ हजार रकम विनियोजन गरेको छ भने कार्यालय व्यवस्थापनतर्फ रु.८ लाख रकम मात्रै विनियोजन गरेको छ । चालु आथिृक वर्षमा विनियोजित रकम कार्यान्वयनमा गइसकेको वडा कार्यालयले जनाएको छ । २० बर्षसम्म ठप्प रहेको विकासे गतिले २०७४ को स्थानीय निर्वाचनयता निकै फड्को मारेको छ । त्यस्तै वडा कार्यालयले प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेका वडामा विभिन्न आयोजनाहरु सञ्चालन गरिरहेको छ । अहिले वडामा दर्जन बढी आयोजनाहरु केन्द्र र प्रदेश सरकारसँगको समन्वयमा भइरहेका छन् ।
केन्द्र, प्रदेश सरकारसँगै अन्य निकायसँगको समन्वयमा राँझामा रु.२० लाख लागतमा खानेपानी आयोजना, विमानस्थल बुद्धु बेहनाको घरसम्म रु.२० लाख लागतमा सडक निर्माण, नयाँबस्तीको थपुवामा टेलिकमको टावर निर्माण, नयाँबस्ती–गुन्नापुर, मदनापुर–आलानगर जोड्ने झोलुङ्गे पुल (टेण्डर प्रक्रियामा रहेको)का लागि रु.५० लाख विनियोजन भइसकेको, विमानस्थल नजिकै रु.चार करोडको लागतमा बनस्पति उद्यान निर्माण, नयाँबस्तीको थपुवामा खानेपानी ट्यांकी निर्माणका लागि सर्वे हुने चरणमा रहेको र वडाभित्रका २५ वटा सडक पक्की निर्माण गरिसकिएको छ ।
त्यस्तै नयाँ बस्तीमा दुई वटा कचवे (कल्भर्ट) निर्माण गरिएको छ भने रु.११ लाख लागतमा राँझा चोकमा सार्वजनीक शौचालय निर्माण, नयाँ बस्तीको थपुवामा रु.१७ लाखमा प्रदेश कृषि उपज संकलन केन्द्र निर्माण र जयजनता माध्यमिक विद्यालय थपुवामा कक्षा ९–१२ कृषि प्राविधिक धार यसै बर्षदेखि सुरु भएकोले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासका लागि रु.१५ लाख रकम विनियोजन गरिएको छ । यीमध्ये केही आयोजनाहरु सम्पन्न भइसकेका छन्, केही सञ्चालनकै चरणमा रहेका छन् भने केही आयोजना सुरु हुने चरणमा छन् ।
‘विकासका लागि आएको बजेटलाई माग र पहुँचका आधारमा नभई आवश्यकताका आधारमा वितरण गरिएको छ,’ वडाध्यक्ष भन्छन्, ‘स्थानीय निर्वाचनपछि विकासले लय समातेको छ । पहिलो वर्ष कानुनी अड्चनसँगै केही उल्झनहरु आए । अब हामी एउटा ट्रयाकमा गइसकेका छौं । विकास तीव्ररुपमा अघि बढेको छ । तर अझै पनि चुनौतिहरु धेरै छन् ।’ उनका अनुसार वडामा रहेका ७५ प्रतिशत कच्ची सडकहरुलाई पक्की सडक बनाउने, जनता आवासका कार्यक्रमहरु वडास्तरबाटै सञ्चालन गर्दै वडाभित्रका बस्तीहरुलाई फुस (खरको छानो)रहित बनाउने कामहरु यस बर्ष हुनेछन् ।
मनिकापुरमा ६० प्रतिशत ऐलानी बसोबास रहेको छ । ती बस्तीहरुलाई व्यवस्थित गर्दै लालपूर्जा हस्तान्तरण र बस्ती व्यवस्थापन तथा स्थानान्तरणका कामहरु सुरु हुने वडाध्यक्ष कार्कीको भनाई छ । उनका अनुसार वडाभित्र पिछडिएका समुदायको चेनतास्तर वृद्धि गर्ने, सरसफाईका कामहरुलाई थप व्यवस्थापन गर्ने, पूर्वाधार विकासका कामहरुको नियमित अनुगमन र मूल्यांकन गर्ने, स्वास्थय सेवालाई थप प्रभावकारी बनाउँदै अनुगमनमा अझै कडाई गर्ने, शैक्षिक विकासका लागि संस्थागत र सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमनसँगै थप सुधारका कामहरु गर्नुपर्नेछ ।
‘पहिलो कुरा शिक्षित समाज चाहिन्छ, त्यसका लागि हाम्रो पहिलो प्राथमिकता शिक्षा नै हो । शैक्षिक विकासले मात्रै अरुखालका परिवर्तनहरु सम्भव छन्, वडाध्यक्ष कार्कीले भने, ‘शैक्षिक विकासकै लागि गत आर्थिक बर्षमा हामीले उपमहानगरका अन्य वडामा भन्दा धेरै रकम विनियोजन गरेर विभिन्न कार्यक्रमहर गरेका छौं । यस बर्ष पनि सोही अनुपातमा वजेट विनियोजन भएको छ ।’ गत वर्ष शिक्षामा रु.३२ लाख रकम खर्च गरेको वडा कार्यालयले यस वर्ष रु.२६ लाख ३७ हजार बजेट विनियोजन गरेको छ । नीजि विद्यालयलाई सरकारी विद्यालयसरह रुपान्तरण गराउने वडा कार्यालयको लक्ष्य छ ।
वडापालिका समावेशी, न्यायोचित र समतामूलक विकास संघीयताको मर्म अनुसार अघि बढिरहेको वडाध्यक्ष कार्कीको भनाई छ । सूविधाहरूकै सवालमा वडाभित्रका सडक सञ्जालको तीब्र विस्तार, खानेपानीको व्यवस्था, स्वास्थ्य सेवा सुविधा, सञ्चार, शिक्षा लगायत क्षेत्रमा भएको परिवर्तनले जनताको जीवनस्तरको मापनको प्रमूख आधारहरू व्यवहारिकरुपमा लागु भइसकेका छन् । रोजगारी, व्यवसायीक कृषि पशुपालनको अवधारणासँगै शिक्षा क्षेत्रमा पनि उत्तिकै फड्को मारेको छ । गरिब जनताका छोराछोरी स्कुल जानबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन शिक्षामा धेरै लगानी गरिएको उहाँको भनाई छ । त्यसँगै पूर्ण सरसफाईयुक्त वडाका रुपमा हामीले विभिन्न कार्यक्रमहरु गरिरहेका छौं ।
‘हामीले चुनौतिहरुकै बाबजुत पनि नीतिगत तरिकाले कामहरु सञ्चालन गरिरहेका छौं । सबै राजनीतिक दलहरुसँग निरन्तर समन्वय गरेरै अघि बढेका छौं । कहिँकतै आलोचना र गुनासा पनि आउँछन्, त्यसलाई मैले रचनात्मक सुझावका रुपमा ग्रहण गर्ने गरेको छु । कतिपयलाई राम्रो काम गर्दाकै परिणामले विक्षिप्त बनाएको हुनसक्छ,’ वडाध्यक्ष कार्कीले भने, ‘आलोचना गर्नकै लागि आलोचना गर्नेहरूको प्रवृत्ति हिजोदेखि नै देख्दै आएका छौँ । हामी सहि दिशामा छौँ भने आलोचना गर्ने गरिरहन्छन् काम गर्ने हामी काम निरन्तर गरिरहनेछौँ । वडा कार्यालयले विकास र समृद्धिले नै निकासको बाटो पहिल्याउने खाले अवधारणा र खाकाहरु कोरेको छ ।’
गाउँको विकासका लागि आवधीक योजनाको आधारपत्र तयार गरी सापेक्षित कार्यक्रमहरू तय गर्दै जनतासँगको सहकार्य गर्दै गाउँको विकास गर्न सकिन्छ । दिर्घकालिन योजना समेतका धेरै बिषयहरूलाई प्राथामिकताका साथ लान सक्यौँ भने गाउँको विकास गर्न सकिन्छ । यीमध्ये धेरै योजनाहरु अघि बढिसकेका छन् । ‘अब बाँकी रहेको दुई बर्षभित्र यस वडामा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सरसफाई, सूचना प्रविधि जस्ता विषयहरुलाई प्राथमिकीकरण गरेर हामी अघि बढेका छौं,’ वडाध्यक्ष कार्कीले भने, ‘हामीले जनताका कामहरुलाई प्रभावकारी बनाइरहेका छौं । सरकारी सेवा प्रवाह र आम वडाबासीहरुलाई सहज र सरलरुपमा सेवा दिइरहेका छौं ।’ यसका लागि वडा कार्यपालिकाका सदस्यहरु र सम्पूर्ण कर्मचारीहरुको पूर्ण साथ र सहयोग छ ।
Design : Aarush Creation
कृष्ण कार्की, वडाध्यक्ष नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकापुर, बाँके ।