सूचनाको शक्ति - The Power Of Information

        

गायिका ‘पारु केसी’को यात्रा : गायनसँगै मोडलिङ्गतर्फ (फोटोफिचरसहित)

बर्दिया राम्रो बढैया तालैले
माया राम्रो डिम्पल गालैले ।

गायिका पारु केसीले बर्दियाका बारेमा पहिलो पटक यो गीतको म्यूजिक भिडियो सार्वजनीक गरेपछि उनलाई जीवनमै ठूलो सन्तुष्टि मिलेको थियो । चुनौतिका चाङकै बीचबाट म्यूजिक भिडियो सार्वजनीक गर्ने अठोट पुरा गरेको उनले बताइन् । बाँसगढी नगरपालिका–९ माछागढमा जन्मिएकी पारुलाई सानैदेखि गीत गाउने रहरले छपक्कै छोपेको थियो ।

विद्यालयमा अध्ययन गर्दाखेरी नै विभिन्न सांगीतिक प्रतियोगिताहरुमा भाग लिएर लोकभाका पस्किँदै प्रतिश्पर्धीलाई सहजै पराजित गर्न सक्ने क्षमताले उनलाई गायिका बन्न सफल बनायो । उनलाई अहिले मेला महोत्सवमा आफ्ना प्रस्तुति दिन भ्याईनभ्याई हुन्छ । लोकभाकामा अब्बल मानिने पारु पछिल्लो समयमा गायनसँगै मोडलिङ्गतर्फ आकर्षित भएको बताउँछिन् ।

कोहलपुर भेट्न आउ मायालु मै तिमलाई पर्खेर बसौंला
तिमी त मेरै हौ मायालु, पिरती गाँसेर मायाले कसौला ।

यस गीतलाई छिट्टै बजारमा ल्याउने गायिका पारुले तयारी गरिरहेकी छन् । गीत संगीतका क्षेत्रमा सानैदेखिको आफ्ना इच्छा पुरा भएको उनले बताइन् । ‘म सानैदेखि गीत संगीतमा रुची राख्थे, अहिले मेरो इच्छा वास्तविकतामा बदलिएको छ । गीत संगीतका क्षेत्रमा अझ धेरै गर्न बाँकी छ । अब अरु गीत र म्यूजिक भिडियो निकाल्ने तयारीमा छु,’ उनले भनिन् ।

गायन क्षेत्रमा लोकप्रिय हुँदै गएकी पारु अब विस्तारै मोडलिङ्गमा पनि जम्न थालेकी छन् । उनलाई ऋषि खड्काले शब्द सिर्जनासँगै लयमा साथ दिएका छन् । ऋषि खड्काकै लय तथा शब्द रहेको ‘पिरतीको गोली, भेट्न आउँछु भोली’ बोलको गीतको अडियो तथा म्यूजिक भिडियो निर्माणको अन्तिम चरणमा रहेको छ ।

‘दर्शक तथा श्रोताको माया पाए मोफसलमा बसेर गरेको सांगीतिक कष्ट हराउने रहेछ,’ उनले भनिन् । युवा पुस्तामाझ आफ्नो सांगीतिक कोसेली हिट हुने उनले दावी गरिन् । आफू मोफलमै बसेर पनि सांगीतिक क्षेत्रमा स्थापित भएको उनको दावी छ । उनी भन्छिन्, ‘सांगीतिक बजारका लागि मोफसललाई बिर्सनु हुँदैन ।’

गीतको म्यूजिक भिडियोको छायांकनसमेत उनले मोफसलमै गरिरहेकी छन् । लोक संगीगका क्षेत्रमा चर्चित बन्न सफल गायिका पारुमा सबै प्रकारका गीत गाउन सक्ने क्षमता छ । आफूलाई सफल तथा चर्चित गायिका तथा मोडल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तनसँगै सुन्दर मनकी पनि धनि छन् ।

सरल सधैं हाँसेर बोल्ने अतिनै मिलनसार स्वभावकी मिठो आवाजको धनि गायिका पारु भन्छिन्, ‘गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।’ उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका भन्न सकिन्छ । साच्चै उनीमा सबै प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ ।

गायिका पारु भन्छिन्, ‘संगीत भनेको हाम्रो सम्पति हो, संगीतलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि पनि हो ।’ गायनसँगै उनी आफू मोडल बन्ने तयारीमा छन् । ‘मोडलिङ्गमा पनि मेरो रुची छ, यस क्षेत्रमा पनि सफल हुन्छु भन्ने आत्मविश्वास छ । यसका लागि आफूलाई तयार गर्दैछु,’ उनले भनिन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १०:२७