सूचनाको शक्ति - The Power Of Information

        

चोरी बढेपछि नेपालगन्जमा ‘चोरको घण्टी’

बाँके । नेपालगन्जमा दिन प्रतिदिन चोरी घटना बढ्न थालेपछि प्रहरीले नेपालगन्जमा ‘चोरको घण्टी’ बजाउने योजना अघि सारेको छ । चोरीका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले नयाँ योजना अघि सार्दै नेपालगन्जमा ‘चोरको घण्टी’ अर्थात ‘कम्युनिटी साइरन’ जडान गर्ने तयारी गरेको छ ।

चोरी घटनाबाट आक्रान्त बनेका नेपालगन्जबासीलाई चोरको घण्टीले राहत दिने बाँके प्रहरीले निश्कर्ष निकालेको हो । करिब ५० घरलाई समेटेर ठाउँठाउँमा कम्युनिटी साइरन जडान गर्न सकेमा चोरी नियन्त्रण हुने भन्दै प्रहरीले यस्तो योजना अघि सारेको हो । बाँके प्रहरीले नेपालगन्जका २३ वटै वडाका प्रमुखहरुलाई एकै ठाउँमा राखेर यस विषयमा छलफलसमेत गरिसकेको छ ।

नेपालगन्जमा कम्युनिटी साइरन जडान गरेपछि सानाठूला चोरी नियन्त्रणमा आउने प्रहरीले विश्वास गरेको छ । बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले चोरी नियन्त्रणका लागि कम्युनिटी साइरन जडान बारेमा छलफल भइरहेको बताए । कम्युनिटी साइरन डिभाइसमा राखिने सिम कार्डसँग सदस्यहरुको मोबाइल वा ल्याण्डलाइन फोन निश्चित ‘कोड नम्बर’ दिएर जोडिन्छ ।

त्यो कोडसँगै सदस्यहरुको नाम, ठेगाना तथा टेलिफोन नम्बर पनि सिस्टममा राखिएको हुन्छ । समस्यामा परेका सदस्यले आफ्नो फोनबाट उक्त नम्बर डायल गरेपछि टोल र प्रहरीकहाँ राखिएको लाउड स्पीकरसहितमा साइरन बज्छ । साइरनसँगै सबै सदस्यको मोबाइलमा बोलाउनेको नाम, फोन नम्बर र ठेगानासहितको सन्देश पुग्छ । अनि, चोरलाई पक्राउ गर्न सकिन्छ । साइरन बजेपछि टोलभरीकै मान्छे बाटोमा निस्किन्छन् । चोर भाग्न पाउँदैन ।

यसमा ४० घण्टासम्म धान्ने ‘ब्याकअप व्याट्री’ जडान गरिएकाले लोडसेडिङले समस्या पार्दैन । कम्युनिटी साइरन राख्दा एक जनालाई दुई हजारसम्मको आर्थिक भार पर्छ । कम्युनिटी साइरन काठमाडौं उपत्यका, पोखरा, भैरहवा, विराटनगर, वीरगञ्ज लगायत देशभरका एक हजार बढी ठाउँमा जडान गरिएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए । यस्तै बाँके प्रहरीले ‘ग्लोबल पोजिशनिङ सिस्टम’ जीपीएस सिस्टम जडानको अवधारणा पनि अघि सारेको छ ।

जीपीएस सिस्टम अर्थात गाडी ट्रयाकिङ गर्ने बित्तिकै त्यो गाडी कहाँ छ भन्ने पत्ता लाग्छ । यसो गर्दा दुर्घटनापछि गाडी नम्बर पत्ता नलाग्ने समस्या समाधान हुने प्रहरी बताँउछ । प्रहरी प्रवक्ता सिंहले भने, ‘आठ हजारजति खर्च गर्दा गाडीमा ट्रयाकिङ गर्न सकिन्छ । कुनै अभिभावकले आफ्नो छोराछोरी कहाँ जान्छन् भन्ने थाहा पाउन पनि गाडीमा ट्रयाकिङ गर्न सक्छन् । जस्तो, काठमाडौंमा प्रहरीले गुण्डा नाइकेलाई ट्रयाकिङ गरेको थियो । यसो गर्दा ऊ कहाँ जान्छ, कसलाई भेट्छ सबै थाहा हुन्छ ।’

यातायात व्यवसायीहरुसँग जीपीएस जडानबारे छलफल भइरहेको बताए । ‘कम्युनिटी साइरन र गाडीमा ट्रयाकिङ सिस्टम गराउन सकेमा चोरी लगायतका अपराध र दुर्घटनापछि गाडी नम्बर थाहा नपाएर हुने अन्यौलता हट्नेछ,’ प्रवक्ता सिंहले भने, ‘यस विषयमा जनप्रतिनिधि, यातायात व्यवसायीहरु सकारात्मक हुनुहुन्छ । दुवै काम हुन्छन् । यी दुई काम हुँदा प्रहरीलाई मात्र होइन सर्वसाधारणलाई समेत धेरै राहत हुन्छ ।’

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०९:२२